भूमि मन्त्री इङनामले लखेटेका ललितपुरका मालपोत हाकिम भट्टराई भ्रष्टाचारमा डामिए


काठमाडौं। भूमिमन्त्री कुमार इङनामले डाँडा कटाएका ललितपुर मालपोतका हाकिम अशोककुमार भट्टराई भ्रष्टाचारमा डामिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बाँके मालपोतमा हुँदा गरेको बदमासीका आधारमा भ्रष्टाचार मुद्दा चलाएको हो। अख्तियारले उनीविरुद्ध सार्वजनिक सम्पत्ति हानी एवं गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायरा गरेको छ। जिल्ला समन्वय समिति भोजपुर सरूवा भएका भट्टराई निलम्बनमा परेका छन्।

अख्तियारले बाँके जिल्लास्थित सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी र मालपोत अधिकृत भट्टराईसहित र नौ जनाविरुद्ध विशेष अदालत भ्रष्टाचार मुद्दा दायर गरेको हो। केसी अहिले घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका छन्।
ललितपुर मालपोत प्रमुख हुँदा आर्थिक चलखेल गरेपछि भूमि मन्त्री प्रा.डा. कुमार इङनामले भट्टराईलाई डाँडा कटाएका थिए। प्रशासकीय अदालतमा पुगेर मन्त्री इङनामलाई चुनौती दिन खोजेका भट्टराईलाई अख्तियारले डामेको छ। केसी निलम्बित भएपछि घोराही उपमहानगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृतबिहीन भएको हो।
आयोगका अनुसार स्वर्गीय सुरता कुर्मीको नाममा रहेको जग्गा तत्काल प्रचलित मुलुकी ऐनको अपुताली महलअनुसार नेपाल सरकारको नाममा कायम हुनुपर्ने भए पनि प्रतिवादीको आपसी मिलेमतो र बदनियतमा झुट्टा सर्जमिन मुचुल्का, गलत सिफारिस र निर्णयका आधारमा व्यक्तिको नाममा नामसारी गरिएको पाइएको छ।

सर्वोच्च अदालतबाट समेत अपुताली हक नपुग्ने भनी अन्तिम फैसला भइसकेको अवस्थामा समेत मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत ऋषिराम केसी मालपोत अधिकृत अशोककुमार भट्टराई, नायब सुब्बा ताराप्रसाद खनाल र कर्णबहादुर पुन तथा साविक बेतहनी गाविसका तत्कालीन सचिव मानबहादुर बोगटीले गैरकानूनी ढंगले सरकारी जग्गा दर्ता गराएको अख्तियारको ठहर छ।
उक्त प्रकरणमा डुडुवा गाउँपालिका-२ का लिलावती कैराती र विरेन्द्र कुमार कुर्मीले गैरकानूनी लाभ लिने मतियारको भूमिका खेलेको अभियोग लगाइएको छ। अख्तियारमा अनुसार यसरी सरकारी नाममा कायम हुनुपर्ने जग्गा व्यक्तिको नाममा दर्ता गरिँदा नेपाल सरकारलाई करिब ४३ लाख ३० हजार रुपैयाँभन्दा बढी बराबरको सम्पत्तिको हानिनोक्सानी पुगेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ