भक्तपुर र ललितपुरका मालपोत हाकिम अझै हाजिर भएनन्
काठमाडौं। भक्तपुर र ललितपुरका मालपोत हाकिम अझै हाजिर भएका छैनन्। सम्भवतः पैसा नबुझाई पहिलोपटक भक्तपुर र ललितपुरको प्रमुख मालपोत अधिकृत बनेकाहरू कमाण्ड सम्हाल्न नपुगेका हुन्। भक्तपुर र ललितपुर मालपोतमा पहिलोपटक अचम्मको दृश्य देखिएको हो।
आर्थिक चलखेलको आशंका भएपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङनामले भक्तपुरका प्रमुख मालपोत अधिकृत माधव घिमिरे र ललितपुरका प्रमुख मालपोत अधिकृत अशोक कुमार भट्टराईलाई ‘डाँडा’ कटाएका थिए। भक्तपुरमा अर्जुन राई र ललितपुरमा भीमबहादुर बुढालाई प्रमुख मालपोत अधिकृत पठाइएको थियो। तर, दुई हप्ता पुग्दा पनि उनीहरू जिम्मेवारी सम्हाल्न नपुगेका हुन्।
मालपोतमा आर्थिक चलखेल भएको गुनासो आएपछि भूमि मन्त्री इङनामले ‘एक्सन’ लिन थालेका छन्। उनले भक्तपुरका माधव घिमिरे र ललितपुर मालपोत प्रमुख अशोक कुमार भट्टराईलाई मन्त्रालयबाटै आउट गरेका थिए। लगानी पनि नउठाइ सरूवामा परेपछि घिमिरे र भट्टराई सरूवा बदर गराउन प्रशासकीय अदालत पुगेका थिए। अदालतले घिमिरेको सरूवा गर्ने निर्णय कार्यान्वयनमा रोक लगाएको छ। भट्टराई भने अहिले भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्।
उपत्यकाका मालपोतमा जान उपसचिवहरूबीच रस्साकस्सी हुने गरेको थियो। भूमि मन्त्रीको जिम्मेवारीमा इङनाम आएपछि ‘ट्रेन्ड’ फेरिएको छ। बलराम अधिकारी हुँदा प्रमुख मालपोत अधिकृत भएका घिमिरे र भट्टराई जागिर थमौती गर्न अदालत पुगेका छन्। बिना लगानी प्रमुख मालपोत अधिकृत बनेका राई र बुढा भने अझैसम्म हाजिर हुन पुगेका छैनन्। सित्तैमा जिम्मेवारी पाउदा पनि सम्हाल्न नजाँदा भूमितिर अच्चमको दृश्य देखिन थालेको हो। भक्तपुर र ललितपुरको मालपोत हाकिम बनाइदिंदा पनि भागाभागको स्थिति देखिन्छ। यसले पनि मालपोतका हाकिम सरूवामा आर्थिक लेनदेन हुन छाडेको अनुमान लगाउन सकिन्छ। भूमि मन्त्रालयको अवस्था फेरिन थालेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन राई, #भीमबहादुर बुढा



तपाईको प्रतिक्रिया दिनुहोस