बागलुङ र रोल्पाका सिडिओ सहसचिव भए, सल्यान र नुवाकोटका सिडिओ सहसचिव हुँदै


काठमाडौं। गृह मन्त्रालयले सहसचिवको दरबन्दीमा खटाएका उपसचिव सिडिओहरू सहसचिवमा बढुवा हुन थालेका छन्। गृहले बागलुङ र रोल्पामा खटाएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहसचिवमा बढुवा भएका हुन्।

सहसचिवमा बढुवाका लागि सिफारिस भएपछि उपसचिवहरू कृष्णप्रसाद आचार्य, गंगाबहादुर क्षेत्री, महेन्द्रकुमार सापकोटा र शम्भुप्रसाद रेग्मीलाई सिडिओमा खटाएको थियो। उनीहरूमध्ये बागलुङका सिडिओ आचार्य र रोल्पाका सिडिओ क्षेत्री सहसचिवमा बढुवा भइसकेका छन्। सल्यानका सिडिओ सापकोटा र नुवाकोटका सिडिओ रेग्मी सहसचिवमा बढुवा हुने तयारीमा छन्।

जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिवमा बढुवा सिफारिस भएका आचार्य र क्षेत्री ३५ दिने अवधि पूरा गरेर सहसचिवमा बढुवा भएका हुन्। कार्यक्षमताका आधारमा प्रशासन सेवाको सहसचिवमा बढुवाका लागि सिफारिस भएका सापकोटा र रेग्मीको पनि आईतबार ३५ दिन पुगिसकेको छ। सापकोटा र रेग्मी आज सहसचिवमा बढुवा हुँदैछन्। बागलुङका सिडिओ आचार्य र रोल्पाका सिडिओ क्षेत्री सहसचिव भएर दरबन्दी अनुसार मिलान हुँदा सल्यानका सिडिओ सापकोटा र नुवाकोटका सिडिओ रेग्मी सहसचिव बन्ने तयारीमा रहेका हुन्।

गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेको बागलुङ, रोल्पा, सल्यान र नुवाकोटमा सहसचिवमा बढुवाका लागि सिफारिस भएका उपसचिवलाई सिडिओ बनाएर पठाएको थियो। उनीहरू भटाभट सहसचिव भएका हुन्। सहसचिव कै दरबन्दी रहेको जुम्ला, जाजरकोट, अछाम, डोटी जस्ता जिल्लामा भने उपसचिव नै सिडिओ रहेका छन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णप्रसाद आचार्य, #गंगाबहादुर क्षेत्री, #महेन्द्रकुमार सापकोटा, #शम्भुप्रसाद रेग्मी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ