‘जिआईओएमएस’मा आइरहेको समस्याको कारण खोजी
काठमाडौं। एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआईओएमएस)मा समस्या आएपछि कारण खोजी भएको छ। सार्वजनिक नीति संवाद मार्फत उक्त प्रणालीमा आएको समस्याको खोजी भएको हो। समाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता अत्री अविरलले फेसबुक पेज सार्वजनिक नीति संवाद मार्फत उक्त प्रणालीमा आएको समस्याका विषयमा प्रश्न उठाएका हुन्।
खासगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उक्त प्रणाली लागू भएपछि समस्या आउन थालेको सञ्चार मन्त्रालयका अधिकारीहरू सुनाउँछन्। मन्त्री रामेश्वर खनालले अर्थमा र सामान्यमा ‘जिआईओएएस’ प्रणाली लागू गरेको भनेर खुब प्रचार गरेका थिए। मिडियामा समेत ‘हेडलाईन’ बनेको उक्त प्रणाली ‘कोमा’मा पुग्ने खतरा बढेको चर्चा हुने गरेको छ।
सामान्य प्रशासन मन्त्रालयले सरूवामा गर्दै आएको गडबडी उक्त प्रणाली लागू भएसँगै रोकिएको थियो। त्यसपछि उक्त प्रणालीमाथि छेडखानी हुन थालेको आरोप लाग्दै आएको छ।
मन्त्रीकोमा पेस गर्ने फाइल मात्रै सिस्टममा बाँकी म्यानुअल नै गरिरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। कर्मचारीले मन्त्रीलाई गुमराहामा राखेको चर्चा छ। यस्तै ताल हो भने एकीकृत कार्यालय व्यवस्थापन प्रणाली हावा खाने निश्चित छ।
फेसबुक प्रयोगकर्ता अत्री अविरल लेख्छन्, ‘GIOMS मा आएको अभूतपूर्व समस्याको कारण के होला?’
अचेल यो एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) मा किन बारम्बार समस्या आउन थालेको हो? सुरुमा सिस्टम ब्राउज नै हुँदैन। १०-१५ मिनेट फन्को लगाएर बल्ल बल्ल सिस्टम खुले पनि त्यसपछि थप अगाडि बढ्दै बढ्दैन। “क्रिपया पर्खनुहोस्” भन्ने देखाउँछ; प्रयोगकर्ता हैरान हुँदै १५-२० मिनेट ३ फन्का लगाएर फर्किँदासम्म पनि सिस्टम घुमिराखेकै हुन्छ। कार्यालयको सुरुवाती समय १०:००-१:०० बजेको समयमा त सिस्टम झन् चल्दै चल्दैन। एउटा सामान्य पत्र तयार गर्न, फर्वाड गर्न पनि घन्टौँसम्म पर्खिनुपर्छ। टिप्पणी तयार गरेर तह तह हुँदै स्वीकृत भैइसक्दा त महाभारतकै युद्ध जितेजस्तो हुन्छ अचेल!
सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयले पहिलेदेखि सफलतापूर्वक यो प्रणालीको प्रयोग गरिरहेका थिए। काममा निकै सहज पनि भएको थियो। पछिल्लो चरणमा अर्थ मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयमा पनि यो प्रणाली लागू गरिएको भनेर सञ्चार माध्यमहरूमा दिनहुँजस्तो खुबै समाचारहरू छाए। त्यसको एक-दुई महिनापछि प्रणालीमा अभूतपूर्व समस्याहरू आउन थाले। प्रणालीमार्फत निर्बाधरूपमा कामै गर्न सकस हुन थालेको छ। म्यानुअल्ली १५ मिनेटमा सकिने कामलाई घण्टौँसम्म प्रणालीले घुमाएको घुमाई गरेपछि कसरी हुन्छ?
सरकारले आफैँ बनाएको र आफैँले होस्ट गरेको यो सरकारी प्रणाली GIOMS मा अचेल किन यस्तो भैराखेको हो? आखिर प्रणाली नयाँ पनि त हैन। दुई तीन वर्षसम्म निर्वाध चलेकै हो। म आफैँ पनि यो प्रणालीको सुरुवाती चरणदेखिकै प्रयोगकर्ता हो। पछिल्लो २/३ महिना अघिसम्म यस्तो हैरानी ब्यहोर्नु परेको याद छैन। डिजिटल शासनको नमून यस्तै हुन्छ र ? फेरि यसको होस्टिङ पनि सञ्चार मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभाग आफैँले गर्छ। उहाँहरूलाई समस्या नपरेको हो कि? कि सर्भरमै समस्या आएको हो? मनसायपूर्वक समस्या सिर्जना गरिएको होला भनेर त अनुमान गर्न सकिन्न। खै के पो भएको हो? समस्या साँच्चिकै देखिएको छ। शीघ्रातिशीघ्र समाधान होस्। नत्र गर्वका साथ डिजिटल प्रणालीबाट पुन: पोकातर्फ नै पुनरागमन गर्ने दिन नआउला भन्न सकिन्न।
#स्पष्टीकरण: प्रणालीभित्रैबाट सम्बन्धित ठाउँमा पटक पटक समस्या समाधानको बारेमा अनुरोध गर्दा पनि समस्याको सुनुवाइ नभएकोले सार्वजनिक गुनासो राखिएको हो।
क्याटेगोरी : विचार



तपाईको प्रतिक्रिया दिनुहोस