कागेश्वरी मनोहरा नगर अस्पतालमा २४ सै घण्टा आधुनिक शवगृह सेवा सुरु


काठमाडौं  । कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित कागेश्वरी मनोहरा नगर अस्पतालमा आधुनिक शवगृह (Mortuary House) सेवा २४ सै घण्टा सञ्चालनमा आएको छ। मृत्यु पश्चात् शव सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा राख्न सकिने गरी अस्पतालभित्रै शवगृह सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाभित्रका स्थायी बासिन्दाका लागि २४ घण्टासम्म शव राखेबापत रु. ८०० शुल्क तोकिएको छ। नगर अस्पतालमै मृत्यु भएको अवस्थामा नगरपालिकाबाहिरका सेवाग्राहीका लागि २४ घण्टाको शुल्क रु. १,६०० तोकिएको छ भने नगरपालिकाबाहिरका सेवाग्राहीका लागि २४ घण्टासम्म शव राख्दा रु. २,३०० शुल्क निर्धारण गरिएको छ।

नगर अस्पतालका अनुसार शवगृह सेवा पारदर्शी, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गरिनेछ। आधुनिक प्रविधियुक्त शवगृह सञ्चालनमा आएसँगै मृत्यु पश्चात् परिवारजनले भोग्दै आएको असहज अवस्था कम हुने अपेक्षा गरिएको छ।

यसअघि शव राख्ने उपयुक्त व्यवस्था नहुँदा बिरामीका परिवारजनले निजी शवगृह वा टाढाका अस्पतालमा निर्भर हुनुपर्ने बाध्यता थियो। नयाँ सेवा सुरु भएपछि स्थानीय तहभित्रै शव व्यवस्थापन सम्भव हुने र आर्थिक तथा मानसिक भारसमेत कम हुने नगरपालिकाको विश्वास छ।

नगरपालिकाले स्वास्थ्य सेवा विस्तारसँगै मृत्युपछिको व्यवस्थापनलाई समेत मानवीय र व्यवस्थित बनाउने उद्देश्यका साथ शवगृह सेवा सुरु गरिएको जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ