दरबन्दीमा सहसचिव बढुवा: सहसचिवको दरबन्दी भएका जिल्लामा भने उपसचिव सिडिओ


काठमाडौं। जुम्ला, जाजरकोट, अछाम र डोटी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहसचिवको दरबन्दी छ। यी जिल्लाको दरबन्दी देखाएर सहसचिवले बढुवा खाएका छन्। तर, बढुवा भएका सहसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर उपसचिवलाई सिडिओमा खटाइएको हो।

गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका जुम्ला, जाजरकोट, अछाम र डोटीमा उपसचिवलाई सिडिओ बनाएर खटाएको हो। गृहले जुम्लामा उपसचिव दिपक पौडेल, जाजरकोटमा राजुप्रसाद पौडेल, अछाममा यज्ञ बहादुर बुढा र डोटीमा कल्पना घिमिरे नेपाल सिडिओ छन्। उनीहरू उपसचिव कै हैसियतमा सिडिओ चलाउनेमा पर्छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा झन्डै दुई दर्जन सहसचिव थन्किएको अवस्थामा सहसचिवको दरबन्दी रहेका ती जिल्लामा उपसचिव सिडिओ रहेका छन्।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सहसचिवहरू कृष्णप्रसाद खनाल, सुकदेवप्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला, राजन राई, जनकराज भट्ट, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, सन्तोषकुमार दाहाल, प्रेमबहादुर दौल्याल, चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दिपक ज्ञवाली रहेका छन्। सहसचिवको दरबन्दी रहेका जुम्ला, जाजरकोट, अछाम र डोटीमा भने उपसचिव सिडिओ रहेको पाइन्छ।

नुवाकोट, बागलुङ, रोल्पा र सल्यानले दरबन्दी अनुसार के सहसचिव सिडिओ पाउदा जुम्ला, जाजरकोट, अछाम र डोटी भने ठगिएका छन्। उक्त दरबन्दीमा बढुवा भएका सहसचिवहरू सामान्य प्रशासन मन्त्रालय कै बरण्डामा हल्लिरहेका छन्। नुवाकोटमा हालै बढुवा भएका सहसचिव शम्भुप्रसाद रेग्मी, बागलुङमा कृष्णप्रसाद आचार्य र सल्यानमा महेन्द्रकुमार सापकोटा सिडिओ भएर खटाइसकेका छन्। जुम्ला, जाजरकोट, अछाम र डोटीमा भने उपसचिवले नै सहसचिवको दरबन्दीमा मस्ती मारिरहेको पाइन्छ।

सामान्य प्रशासन मन्त्रालयको बरण्डामा रहेका आधा दर्जन बढी सहसचिवहरू सिडिओ चलाएर आएका हुन्। उनीहरूलाई दरबन्दी अनुसार तत्काल सिडिओमा खटाउन जरूरी छ।

बैतडीको सिडिओ पुण्यबिक्रम पौडेल पनि फागुन ४ गते नै ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने भएकाले उक्त जिल्लामा पनि सहसचिव सिडिओ खटाउन ढिला भइसकेको छ। चुनावको मुखमा भएकाले पौडेललाई पेन्सनपट्टा बनाउन सिंहदरबार ल्याएर बैतडीमा अर्को सहसचिवलाई सिडिओ पठाउन उपयुक्त देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ