पशुपतिको हंसमण्डपमा पुरातत्त्वको अनुमित बेगर नै चल्यो डोजर


काठमाडौं। ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको स्थान पशुपति क्षेत्रको हंसमण्डपमा डोजर चलेको छ। पुरातत्त्व विभागको अनुमति बेगर नै उक्त ठाउँमा डोजर चलेको हो।

पशुपति क्षेत्रको हंसमण्डपमा डोजर चलाउने कार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीतको कार्य हो। उक्त ठाउँमा पुरातत्त्व विभागको अनुमति बिनै डोजर चलाइएको छ। प्राचीन, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको क्षेत्र हंसमण्डपमा डोजरले खाल्डो खन्दा लिच्छविकालीन ईंटाहरू समेत टुक्रिएको देखिन्छ। पुरातत्त्व विभागका कर्मचारीले डोजर चलेको क्षेत्रमा अनुगमन गरे पनि कुनै एक्सन लिएको छैन।

पशुपतिको हंसमण्डप क्षेत्रमा शौचालय निर्माण गर्नका लागि काठमाडौं महानगरपालिका प्राचीन स्मारक संरक्षण ऐनविपरीत कार्य गरिरहेको पाइन्छ। सिमेन्ट प्रयोग गरेर हंसमण्डपमा शौचालय बनाइएको पाइन्छ। पुरातत्त्व विभागको निर्देशन समेत अटेर गरी सिमेन्टका ‘पिलर’हरू ठड्याइएको छ। सम्पदामाथि डोजर चल्दा समेत पशुपति क्षेत्र विकास कोष अनदेखा गरेर बसिरहेको हो।

हंसमण्डपमा मात्र होइन पशुपति क्षेत्र कै राम मन्दिर परिसरमा समेत डोजर चलेको हो। ब्रह्मकुमार राज योगले महाशिवरात्रिको कार्यक्रम गर्न डोजर प्रयोग गरेको छ। कोष र पुरातत्त्व विभागको अनुमति बिनै उक्त क्षेत्रमा डोजर चलेको हो। उक्त विषयमा समेत कोष बेखबर देखिन्छ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ