सुशासनका लागि बनेको ‘जेन-जी’ सरकारमा ‘आदर्शका कुरा’: एनएसीमा अमृतमानलाई कार्यकारी अध्यक्ष बनाउन चलखेल


काठमाडौं। देश निर्वाचनमा होमिएको छ। निर्वाचनपछि बन्ने सरकारका प्रधानमन्त्रीका उम्मेदवार समेत अहिले नै सार्वजनिक गरिएको छ। तर, निर्वाचन गर्न बनेको सरकारको ध्यान भने नियुक्तितर्फ केन्द्रित देखिन्छ।

 कुशासन र भ्रष्टाचारमा लिप्त भएका अघिल्ला सरकारका कारण मुलुकमा ‘जेन-जी’ आन्दोलन भएको हो। त्यसपछि मुलुकमा भ्रष्टाचार अन्त्य गर्न, सुशासन कायम गर्न र चुनाव गरेर नेतृत्व हस्तान्तरण गर्ने सुशीला कार्कीको अन्तरिम सरकार बनेको हो। उक्त सरकारलाई बदनाम गराउन एक पात्र निरन्तर लागिपरेका छन्। ति पात्र हुन् प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ। सिन्धुलीका आदर्श सर्वोच्च अदालतको नायब सुब्बा सरहको ‘आईटी सपोर्ट पर्सन’का रूपमा करारमा जागिर खाएका कर्मचारी हुन्। ‘जेन-जी’ आन्दोलनपछि बनेको कार्की सरकारमा उनै आदर्श हर्ताकर्ता देखिन्छन्।

प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव हुनेबित्तिकै श्रीमती र नातेदारलाई प्रधानमन्त्रीको स्वकीय सचिवालयमा जागिर खुवाएर विवादमा तानिएका आदर्श निर्वाचन आचारसंहिता लागेपछि अर्को खेलमा लागेको चर्चा छ। नेपाल बायु सेवा निगम सञ्चालक समितिको सदस्य हुँदै कार्यबहाक महाप्रबन्धक बनेका अमृतमान श्रेष्ठलाई कार्यकारी अध्यक्ष बनाउन लबिइङ गरेपछि आदर्शको अर्काे सेटिङ चर्चामा आएको हो।

निर्वाचन आचारसंहिता र सर्वोच्च अदालतको आदेशका कारण नेपाल बायु सेवा निगमको महाप्रबन्धक छनौट प्रक्रिया रोकिएको छ। उक्त मौका छोप्दै आदर्शले अमृतमानलाई कार्यकारी अध्यक्ष बनाउन चलखेल गरिरहेको निगमका कर्मचारीहरू सुनाउँछन्। आफूलाई अध्यक्ष बनाउने बचन आदर्शले दिइसकेको भन्दै अमृतमानले कर्मचारीहरूलाई भोज खुवाउन थालेको निगमभित्र चर्चा छ। सञ्चालक समिति सदस्यमा रहँदै दुई छोरालाई जागिर खुवाएका अमृतमान कार्यकारी अध्यक्ष बन्ने दौडधुपमा लागेका छन्।

जनक कालाखेतीलाई हटाएर आदर्श कै जोडबलमा अमृतमानलाई कार्यबहाक महाप्रबन्धक बनाइएको थियो। फेरि उनै आदर्श हावी भएर अमृतमानलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न जोडबल गरिरहेको स्रोतले बतायो। अमृतमानलाई निगमको कार्यकारी अध्यक्ष बनाउने आदर्शको डिजाइनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा पनि फसेको चर्चा हुन थालेको छ। मुलुक निर्वाचनमा होमिएको मौका छोपेर आदर्शले अमृतमानलाई निगमको कार्यकारी अध्यक्ष बनाउन खोजेको विषयले हल्लिखल्ली मच्चिएको हो। आदर्शले ‘जेन-जी’ आदोलन कै हुर्मत लिने गरी अमृतमानलाई नेपाल बायु सेवा निगमको कार्यकारी अध्यक्ष बनाउन चलखेल गरेको पाइन्छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शले भने उक्त विषयमा आफ्नो सरकार नरहेको प्रतिक्रिया दिए। जे विषयमा पनि आफ्नो नाम जोडिएको भन्दै उनले निगमको कार्यकारी अध्यक्ष नियुक्तिको विषयमा आफूले कुनै चासो नदेखाएको बताए। निर्वाचन आयोगले न्यायाधीश नियुक्त समेत रोकेको अवस्थामा निगमको नियुक्ति हुने अवस्था नरहेको आदर्शको भनाइ छ।

क्याटेगोरी : समाचार
ट्याग : #अमृतमान श्रेष्ठ, #आदर्शकुमार श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ