जलेर ध्वस्त भएकाे आईसीसीमा करारका कर्मचारीलाई ६० लाख खर्च गरियो
काठमाडौं। ‘जेन-जी’ आन्दोलनका क्रममा जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी)का कर्मचारीका लागि बिना काम ६० लाख खर्च गरिएको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा करारमा भर्ति भएका कर्मचारीलाई ५८ लाख बढी खर्च भएको लेखा अधिकृत रोशना अधिकृतले जानकारी दिइन्। उक्त रकम करार ४६/४७ जना कर्मचारीको तलबमा खर्च भएको उनको भनाइ छ।
‘जेन-जी’ आन्दोलनका क्रममा भदौं २४ गते संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलेर ध्वस्त भयो। उक्त संरचना जलेर भग्नावशेष भएसँगै संसद् त्यहाँबाट हट्यो। संसद् हटेसँगै त्यहाँ रहेका स्थायी कर्मचारी समेत कामबिहीन भए। स्थायी कर्मचारीलाई समेत काम नभइरहेको अवस्थामा भदौंदेखि पुस मसान्तसम्मको अवधिमा समितिले करारका कर्मचारीका लागि झन्डै ६० लाख तलबमै बाँडेको पाइन्छ।
‘जेन-जी’ आन्दोलनपछि बनेको सरकारले मितव्ययिताको नीतिलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको थियो। उक्त नीतिविपरीत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले झन्डै ६० लाख रुपैयाँ अनावश्यक खर्च गरेको खुल्न आएको हो।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट व्यवस्थापिका संसद् हटेपछि समितिको आम्दानीको स्रोत स्याप्पै सुकेको छ। भएका स्थायी कर्मचारीलाई समेत व्यवस्थापन गर्न नसकिरहेको समितिले करारका कर्मचारीका लागि मात्र आधा करोड बढी खर्च गरेको हो।
विभिन्न सहरी विकास मन्त्रीका पालामा राजनीतिक भर्ति केन्द्र बनाइएको समिति अहिले थलिएको अवस्थामा छ। म्याद सकिएका करारका कर्मचारीले लगेको सवारीसाधन समेत फिर्ता गरेका छैनन्। समितिको नाममा रहेको मोटरसाइकल समेत सडकमा बेवारिसे अवस्थामा भेटिन थालेको छ। यस्तो बेथिति हुँदा समेत सहरी विकास मन्त्रालयका सचिव अध्यक्ष हुने समिति रमिते बनेको पाइन्छ। म्याद सकिएका करारका कर्मचारीले स्रोत साधन दुरूपयोग गर्दा समेत रमिते बनेका जिम्मेवार अधिकारीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले कुनै एक्सन लिएको छैन। समितिलाई जुकाले जस्तो चुसेर नअघाएका कर्मचारीले सवारीसाधन समेत दुरूपयोग गरिरहेको देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस