समाज कल्याण परिषद्मा राजनीतिक भर्ति केन्द्रमाथि एक्सन: १ दर्जन बढी करारका कर्मचारी हटाइए
काठमाडौं। पछिल्लो समय राजनीतिक भर्ति केन्द्र बनेको समाज कल्याण परिषद्मा एक्सन सुरू भएको छ। ‘जेन-जी’ सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व श्रद्धा श्रेष्ठले सम्हालेलगत्तै राजनीतिक दबाबमा भर्ति गरिएका १ दर्ज बढी कर्मचारी हटाइएको हो। परिषद्ले पहिलो चरणमा १४ जना करार र अस्थायी कर्मचारी हटाएको छ।
मनोज भट्ट र उनीभन्दा अगाडिका सदस्यसचिवले राजनीतिक रूपमा भर्ति गरेका कर्मचारीलाई श्रद्धा आउनेबित्तिकै हटाउन थलिएको हो। परिषद्को अध्यक्ष समेत रहेकी मन्त्री श्रद्धा र सदस्यसचिव सरोजकुमार शर्माको ‘ट्युनिङ’ मिलेपछि १४ जना करार र अस्थायी कर्मचारी एकै पटक हटाइएका हुन्। समाज कल्याण परिषद्मा ४९ जना स्थायी कर्मचारी रहेका छन्। ५७ जना त राजनीतिक आस्थाका आधारमा करारमा भर्ति गरिएका कर्मचारी हुन्।
स्वास्थ्य लाइभले समाज कल्याण परिषद्लाई राजनीतिक भर्ति केन्द्र बनाइएको तथ्य सार्वजनिक गरेको थियो। त्यसपछि परिषद्भित्र शुद्धीकरण अभियान सुरू भएको देखिन्छ। स्वास्थ्य लाइभले समाज कल्याण परिषद्लाई राजनीतिक भर्ति केन्द्र बनाएको विषयलाई उजागर गरेपछि तत्कालीन भट्टका निजी सचिव बनेका राजेन्द्रप्रसाद उप्रेतीले राजीनामा दिइसकेका छन्।
परिषद्ले राजनीतिक रूपमा भर्ति भएका अधिकृतस्तर कै रञ्जना पंजियार र देवीका घर्ति मगरलाई हटाउने निर्णय गरेको छ। त्यस्तै नायब सुब्बा सरहका सुनिल चन्द, सुरज कुमार कटुवाल र सफलता चौधरीलाई हटाउने निर्णय गरेको हो।
त्यस्तै खरिदार सरहका बालिका थापा, संगीता पौडेल र विवेक अधिकारीलाई सेवाबाट हटाइएको छ। सवारी चालक अनिल माली र नारायण माली, माली अनिता नगरकोटी र लक्ष्मी तिमिल्सिना, स्वीपर मोहनमाया पोडे तथा कार्यालय सहयोगी संजय कुमार महतोलाई समेत पदबाट हटाइएको हो।
समाज कल्याण परिषद्ले राजनीतिक रूपमा भर्ति गरिएका अनावश्यक कर्मचारी हटाउँदा जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करारका कर्मचारीको राइँदाइँ रहेको छ। ‘खरानी चाट्ने र फलाम चुस्ने’बाहेक केही काम नभएका केन्द्रका कर्मचारी सरकारी सवारीसाधनमै हुइँकिरहेका छन्। समाज कल्याण परिषद्ले महत्त्वपूर्ण निर्णय गरेर राज्यलाई गुन लगाउदा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति भने करारका कर्मचारी नहटाउन चलखेल गरिरहेको छ। केन्द्रलाई जुकाले चुसे जस्तै चुस्ने काम भइरहेकाे हो।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस