विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा निरन्तर डोजर आतंक
काठमाडौं। विश्व सम्पदा सूचीमा रहेको पक्षुपति क्षेत्रमा डोजर आतंक मच्चिन थालेको छ। पशुपति क्षेत्रमा एकपछि अर्को गर्दै डोजर आतंक मच्चिन थालेपछि सम्पदाविद् र अभियान्ताहरूले आपत्ति जनाउन थालेका छन्।
काठमाडौं महानगरपालिका ८ नम्बर वडा कार्यालयले बगैंचा बनाउने नाममा डोजर चलाएको महिना दिन नबित्दै पशुपति क्षेत्रको ३/४ ठाउँमा डोजर चलिसकेको छ। सोमबार मात्र पशुपतिनाथ मन्दिरलाई नै असर गर्ने गरी बागमती नदीमा डोजर चलाइएको हो। पशुपति क्षेत्रमा डोजर हान्ने र रोक्ने विषयमा पशुपति क्षेत्र विकास कोष र पुरातत्त्व विभागबीच दोहोरी चल्न थालेको छ। पशुपति क्षेत्रमा डोजर आतंक हेर्दा पुरातत्त्व र कोषबीच ‘तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु’ भने जस्तो भद्र सहमति भएको आभाष हुन्छ।
पशुपति क्षेत्र विकास कोषमा सयौंको संख्यामा सरसफाइकर्मी रहेका छन्। महाशिवरात्रिको अवसरमा सुरक्षाकर्मीदेखि स्वयंसेवकसम्म पशुपति क्षेत्र र बागमतीको सरसफाइमा सहजै जुट्न सक्छन्। तर, प्राचीन सम्पदालाई नै असर पर्ने गरी बागमती सफाइका नाममा डोजर चलाएको हो।
पशुपति क्षेत्र कै हंसमण्डपमा समेत केही दिन अघि लगातार दुई दिन डोजर चलेको थियो। पुरातत्त्वको टोली आएपछि डोजर आतंक त बन्द भयो। तर, उक्त डोजर पुरातत्त्व विभागले जफत नगर्दा उक्त डोजर सोमबार बागमतीमा नचाइएको हो। बागमतीमा डोजर नाचिरहेको घटनामा युनेस्को समेत रमिते देखिन्छ।
पशुपति क्षेत्रको राममन्दिर नजिकै बि-१३ एरियामा डोजर लागेपछि पुरातत्त्व विभागको टोली पुगेको थियो। भण्डारखाल, हंसमण्डप हुँदै डोजर आतंक बागमतीतिर प्रवेश गरेको छ। यहीँ रफ्तारमा डोजर आतंक जारी रहने हो भने पशुपतिनाथ मन्दिरको अस्तित्व नै समाप्त हुने खतरा छ। चाँगुनारायण मन्दिर समेत विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी आइरहेका बेला डोजर आतंकतले पशुपति क्षेत्रलाई पनि त्यहिँ अवस्थामा पुऱ्याउने खतरा बढेको हो।




तपाईको प्रतिक्रिया दिनुहोस