लेखामा अपारदर्शी सरूवा: सूची लुकाएर ठूलो संख्यामा गरियो लेखाका कर्मचारीको सरूवा
काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले अपारदर्शी ढंगले सरूवा गर्न थालेको छ। महालेखा नियन्त्रक कार्यालयले दर्जनौं सरूवाहरू गोप्य राखेको खुल्न आएको हो। महालेखा नियन्त्रक कार्यालयले यस अघि सरूवाको सूची सार्वजनिक गर्दै आएको थियो। सरूवाको विषयमा आलोचना हुन थालेपछि महालेखा नियन्त्रक शोभाकान्त सरूवा लुकाउन थालेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्ड, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, कारागार व्यवस्थापन विभागदेखि दर्जन बढी निकायमा भएको लेखा उपसचिवको सरूवालाई शोभाकान्तले लुकाएका छन्। मासु व्यापारी जस्तो सरूवा गर्दै आएका शोभाकान्तले लेखाको सरूवालाई गुप्त बनाइदिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखा उपसचिव मिठु थापा हाजिर भइसकेकी छिन्। केन्द्रीय आयोजना कार्यान्वयन इकाई सिएलपीआईयू (भवन)बाट स्वास्थ्य मन्त्रालयमा थापाको सरूवा भएको लामो समय भएपनि महालेखा नियन्त्रक कार्यालयले उनको सरूवा गोप्य राखेको पाइन्छ। महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमा थापालाई स्वास्थ्यमा सरूवा गरेको सूची राखिएको छै।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लेखा उपसचिव गोपीचन्द्र भण्डारी महालेखा नियन्त्रक कार्यालयमा सरूवा भएर गइसकेका छन्। खानेपानी मन्त्रालय लेखा उपसचिव रमेश घिमिरे सिएलपीआईयू (भवन)मा पुगेका हुन्। उनीहरूको सरूवा पनि महालेखा नियन्त्रक कार्यालयले गुपचुप राखेको छ।सर्लाही कोलेनिकाका पुष्प गुरागाईं स्वास्थ्य बीमा बोर्डमा सरूवा भएका छन्। सर्लाही कोलेनिकामा भने पदम पौडेल भएका हुन्।
सहकारी विभागका लेखा उपसचिव रेशम कुमार खत्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरूवा भएर हाजिर भइसकेका छन्। सहकारी विभागमा अख्तियारबाट लेखा उपसचिव भट्टराई आएका हुन्।
महालेखा नियन्त्रक कार्यालयका गौडा ढुकेर बसेका ज्ञानेन्द्रराज ओझाको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय गुपचुप सरूवा भएको छ। ‘जेन-जी’ आन्दोलनका क्रममा सिंहदरबार र संसद् जलेर ध्वस्त भएको अवस्थामा सबे कुरा किनेर दिनुपर्ने भएकाले उक्त कार्यालय अहिले लेखाका उपसचिवका लागि आकर्षक बनेको छ। उक्त ठाउँमा ज्ञानेन्द्रलाई सुटुक्क पठाइएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लेखा उपसचिव लोकनाथ सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रमा पुगेका छन्। सञ्चारमा चितवन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)बाट यमनारायण शर्मा सरूवा भएर आएका हुन्। सार्वजनिक वित्त व्यवस्थापन तालीम केन्द्रका भिर्माजुन ज्ञवाली चितवन कोलेनिका पुगेका छन्।
अवकाश हुन लागेका (संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लेखा उपसचिव भगवान प्रसाद उप्रेतीको ठाउँमा श्रम मन्त्रालयका रमेश पौडेललाई पठाइसकेको पाइन्छ। मिलेनिकाबाट इलाम कोलेनिका सरूवा भएका यदुनाथ भट्टराईलाई गुपचुप रूपमै मलेनिका फिर्ता भएका छन्। इलाम कोलेनिकामा झापाका सूर्यबहादुर भण्डारी उक्लिएका हुन्।
तेह्रथुमबाट झापा बसाइसराई हुने पुरानै प्रचलन हो। शोभाकान्तले तेह्रथुमका कोलेनिका हाकिम रमेश कार्की गुपचुप रूपमा झापा बसाइसराई गर्दिएका छन्। सिन्धुपाल्चोक कोलेनिकाका प्रमोद सिंखडा मलेनिका आएका छन्। सिन्धुपाल्चोक कोलेनिकाको कमाण्ड सम्हाल्न देवराज लुइटेल पुगेका हुन्।
लक्ष्मी जोशी कारागार व्यवस्थापन विभागबाट खानेपानी मन्त्रालय पुगेका छन्। मुरारी निरौला कारागार व्यवस्थापन विभाग पुगेका हुन्। निरौला छोटो समयमै आधा दर्जन कार्यालयमा सरूवा हुने लेखा उपसचिवमा पर्छन्। उपसचिव निरौला कान्ति बाल अस्पतालबाट कारागार पुगेका हुन्। १ वर्षको अवधिमा निरौला कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कान्ति बाल अस्पताल हुँदै कारागार पुगेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखा उपसचिव मञ्जु कुमारी जैसी ढकाल हाजिर भएकी छिन्। उनी रुपन्देही कोलेनिकाबाट सरूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएकी हुन्। रुपन्देही कोलेनिका विष्णु खनाल पुगेका छन्।
यी त केही उदाहरण मात्र हुन्। महालेखा नियन्त्रक कार्यालयले मनपरी र गुपचुप ढंगले दर्जनौं लेखाका उपसचिवहरू सरूवा गरेको पाइन्छ। अपारदर्शी ढंगले गरिएकाे सरूवाले महालेखा नियन्त्रक पौडेलको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ। सुशासन र पारदर्शितालाई जोड दिएर भएको ‘जेन-जी आन्दोलनलाई नै अबमूल्यन गर्ने गरी लेखामा सरूवा भइरहेको पाइन्छ। उक्त सरूवालाई तत्काल सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायले निर्देशन दिन जरूरी छ। लेखा उपसचिव मात्र होइन पछिल्लो समय महालेखा नियन्त्रक कार्यालयले ठूलो संख्यामा लेखा अधिकृत, लेखापाल र सहलेखापालको सरूवा गरेको देखिन्छ। यी सबै सरूवाहरू सर्पले मणि लुकाए जस्तो महालेखा नियन्त्रक कार्यालयले लुकाएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस