सूर्य नेपाल काठमाडौं ओपन: रविलाई दुई स्ट्रोकको अग्रता 


काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन रवि खड्का दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। २-अन्डर ६६ सहित समग्रमा ५-अन्डर १ सय ३१ को स्कोरमा रविले पहिलो दिनका संयुक्त लिडर रामे मगरलाई २ स्ट्रोकले पछि पारेका हुन्। 

आज इभन-पार ६८ को स्कोर बनाएका रामे मगर समग्रमा ३-अन्डर १ सय ३३ को स्कोरमा दोस्रो स्थानमा झरे। भुवन नगरकोटीले आज ३-अन्डर ६५ स्कोर गर्दा समग्रमा २-अन्डर १ सय ३४ सहित तेस्रो स्थानमा रहे। ३६ होलको समाप्तीमा १-अन्डर १ सय ३५ को स्कोरमा दिनेश प्रजापति र सञ्जय लामा संयुक्तरुपमा चौथो स्थानमा छन्। दिनेशले आज १-अन्डर ६७ र सञ्जयले इभन-पार ६८ मा खेल सकाए। 

समग्रमा १-ओभर १ सय ३७ बनाएका प्रदीप कुमार लामा छैटौं स्थानमा रहे। उनले आजको खेल २-अन्डर ६६ मा सकाए। ४-ओभर ७२ को स्कोर कार्ड बनाएका जयराम श्रेष्ठ समग्रमा २-ओभर १ सय ३८ सहित सातौं स्थानमा रहेका छन्। 

समग्रमा ४-ओभर १ सय ४० को स्कोरमा तोरण विक्रम शाही र रमेश अधिकारीले संयुक्तरुपमा आठौं स्थान बाँडे। तोरणले २-अन्डर ६६ र रमेशले इभन-पार ६८ मा दोस्रो दिनको खेल सकाए। भुवन कुमार रोक्का समग्रमा ५-ओभर १ सय ४१ सहित दशौं स्थानमा छन्। उनले आज ५-ओभर ७३ को प्रदर्शन गरे।

रोयल नेपाल  गल्फ क्लब (आरएनजीसी) मा रविले दिनको सुरुवात इगलबाट गरे। पहिलो होलमा इगलको सफलता प्राप्त गरेका उनले पाँचौं, छैटौँ र आठौं होलमा बर्डी प्रहार गरे। तर दोस्रो, सातौं र नवौं होलमा एक/एक सट खेर फाल्दा फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १० औं होलको बर्डीका विरुद्ध ११ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ खेले। 

रामेले पहिलो र पाँचौं होलमा बर्डी प्रहार गर्दा चौथो, सातौं र नवौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। यसपछि १२ औं होलमा एक सट खेर फाल्दा १६ औं र १८ औं होलमा बर्डी प्रहार गरे।

भुवनले फ्रन्ट नाइन २-अन्डर ३२ र ब्याक नाइन १-अन्डर ३३ मा पुरा गरे। उनले पहिलो र दोस्रो होलको बर्डीले फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि १२ औं र १३ औं होलमा पनि एक-एक सट जोगाए। तर १८ औं होलमा बोगीको सामना गरे । 

एमेच्योरतर्फ फुन्सोक नोर्बु लामाले पहिलो दिनका सम्युक्त लिडर तथा राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्मालाई एक स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा उक्लिए। आज १-अन्डर ६७ खेलेका फुन्सोकले समग्रमा १-ओभर १ सय ३७ को नतिजा निकाले। लगातार दोस्रो दिन १-ओभर ६९ खेलेका राहुलले समग्रमा २-ओभर १ सय ३८ स्कोर गरे। 

३६ होलको समाप्तीमा १२-ओभर १ सय ४८ स्कोर गरेका  १८ प्रो र ८ एमेच्योर खेलाडीले कट बनाएका छन्। प्रो तर्फ कुमार कामी, नेपाल नम्बर एक प्रो निरज तामाङ, धनबहादुर थापा, दीपक मगर, टंक बहादुर कार्की, रामकृष्ण श्रेष्ठ, सुमन परियार र कृष्ण मान राजबाहकले कट बनाए। १२-ओभर १ सय ४८ स्कोर गरेका वसन्त राज गुरुङ भने काउन्ट ब्याकमा बाहिरिए। 

एमेच्योरतर्फ  महेन्द्र फगामी, स्वप्निल भट्टराई, प्रकृत तामाङ, सरोज थापा, किशोर बस्नेत र प्रज्वल गुरुङले अन्तिम ३६ होलको प्रतिस्पर्धाको लागि स्थान सुरक्षित गरेका छन्।  चार दिन सम्म चल्ने ७२ होलको यो प्रतियोगितामा‌ उपाधिका लागि ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका छन्। 

नेपाल प्रोफेशनल गल्फर्स संघ (एनपीजीए) द्वारा आयोजित प्रतियोगिताको पुरस्कार राशी कुल ८ लाख ७५ हजार रुपैयाँ रहेको छ। विजेताले उपाधि सँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले १ लाख ५ हजार र  तेस्रो हुने खेलाडीले ८५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्। यस्तै चौथो र पाँचौँ स्थानका खेलाडीले क्रमश ७१ हजार र ६३ हजार हात पार्नेछन्। शीर्ष १८ स्थानसम्म रहने प्रोफेसनल खेलाडीहरूले नगद  पुरस्कार प्राप्त गर्नेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ