दाङमा सिकलसेल एनिमियाको बृहत् परीक्षण अभियान, झन्डै ९ सयले गराए जाँच
दाङ । दाङमा थारु समुदायमा गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाको पहिचान र नियन्त्रणका लागि बृहत् परीक्षण अभियान सुरु गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क रूपमा थालेको यो परिक्षण अभियान अन्तर्गत हालसम्म ९ सय बढीले स्वास्थ्य जाँच गराइसकेका छन् ।
पहिलो चरणमा ५ हजार जनाको परीक्षण गर्ने लक्ष्यसहित बुधबार देउखुरी क्षेत्रका बासिन्दालाई लक्षित गर्दै राप्ती आधारभूत अस्पताल, सिसहनियामा शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा ५ सय ६३ जनाको परीक्षण भएको प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानमै ३ सय २० जनाले जाँच गराइसकेका छन् ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर जनार्दन पन्थीका अनुसार अब सिकलसेल परीक्षणका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ । हाल प्रतिष्ठानमा ३ सय १५ जना बिरामीले नियमित उपचार सेवा लिइरहेका छन् । एक वर्षका शिशुदेखि ६५ वर्षसम्मका व्यक्तिमा रोग देखिएको छ भने केही परिवारमा चार जनासम्म संक्रमित भेटिएका छन् ।
सिकलसेल परीक्षणका लागि अत्याधुनिक उपकरण जडान भएसँगै दाङ उपत्यकाभर अभियान विस्तार गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक श्याम लम्सालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा ५ हजार र आगामी वर्ष १० हजार जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य छ । परीक्षणसँगै बहुवर्षीय अनुसन्धान पनि सुरु गर्ने लम्सालको भनाई छ ।

प्रतिष्ठानले यो अभियानलाई विश्वकै ठूलो समुदायस्तरीय सिकलसेल अनुसन्धानमध्ये एक बनाउने दाबी गरेको छ । प्राप्त तथ्यांकले भविष्यमा उपचार पद्धति, जोखिम न्यूनीकरण र नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
सिकलसेल एनिमिया वंशाणुगत रोग हो । आमा–बुवा दुवैमा रोग भए सन्तानमा सर्ने सम्भावना उच्च हुन्छ । यो खानपानले सर्ने रोग होइन । दाङदेखि कञ्चनपुरसम्मका थारु समुदायमा बढी देखिए पनि पछिल्लो समय योगी र दलित समुदायमा समेत संक्रमण पुष्टि भएको छ ।
चिकित्सकहरूका अनुसार रोगको पूर्ण उपचार नभए पनि समयमै पहिचान भए जीवन सहज बनाउन सकिन्छ । प्रशस्त पानी पिउने, पोसिलो खाना खाने, अत्यधिक गर्मी–जाडोबाट बच्ने र बालबालिकालाई नियमित खोप लगाउनुपर्ने सुझाव दिइएको छ । रोगको लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन प्रतिष्ठानले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस