बद्री खड्का, बलराम रिज्यालसहित ४० जनाको अकुत सम्पत्तिको फाइल अख्तियारको तामेलीमा
पर्यटन बोर्डका पूर्वसिईओ धनन्जय रेग्मीको फाइल तामेलीमा पुग्दा चुनावमा हाइसञ्चो
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा ४० वटा स्रोत नखुलेको सम्पत्ति आर्जनको मुद्दा तामेलीमा राखेको छ। अख्तियारले थप प्रमाण प्राप्त भएमा थप अनुसन्धान अघि बढाउने गरी ४० जनाको अकुत सम्पत्ति आर्जनको उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो।
अख्तियारले बागमती प्रदेशको स्वास्थ्य सचिवबाट अवकाश भएका बद्रीबहादुर खड्कादेखि स्वास्थ्य मन्त्रालयमै कार्यरत हुँदा पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेका उपसचिव लक्ष्मीप्रसाद जोशीको फाइल तामेलीमा राखेको छ। हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यरत सहसचिव बलराम रिज्यालको गैरकानुनी सम्पत्ति आर्जनको फाइल पनि अख्तियारले तामेलीमा राखेको हो। थप प्रमाण प्राप्त हुनासाथ रिज्यालविरूद्ध अकुत सम्पत्तिमा अनुसन्धान अघि बढ्ने अख्तियारले जनाएको छ।
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदा धनन्जय रेग्मीले माछापुच्छ्रे बैंकमा रहेको दीर्घकालीन कर्जा छोटो समयमा चुक्ता गरेको र सिर्जना श्रेष्ठले निजको खातामा ३ करोड शंकास्पद रकम जम्मा पारिदिएको साथै मर्यादाविपरीतको कार्य हरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने समेतमा अनुसन्धानपश्चात् फाइल तामेलीमा राखिएको छ। अकुत सम्पत्ति आर्जनको मुद्दाबाट तत्कालका लागि राहत पाएका रेग्मी स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न पुगेका छन्। रेग्मीको अकुत सम्पत्ति आर्जनको फाइल तामेलीमा पुग्दा उनलाई डाइसञ्चो भएको छ। अख्तियारको टेन्सन दूर गरेर रेग्मी निर्वाचनमा होमिएका हुन्।
प्राविधिक सहसचिव श्यामकिशोर सिंहले पनि अकुत सम्पत्ति आर्जनको झमेलाबाट तत्काललाई मुक्ति पाएका छन्। पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलको अकुत सम्पत्ति आर्जनको फाइल तामेलीमा पुगेको छ। इलाका प्रहरी कार्यालय लाहानका प्रहरी निरीक्षक लालबाबुप्रसाद यादवको फाइल तामेलीमा राखिएको हो। अख्तियारले उदयपुर सिमेण्ट उद्योग लिमिटेडका तत्कालीन कामु नयाब महाप्रबन्धक विजयकुमार ठाकुर र नेपाल टेलिकमका तत्कालीन प्रमुख व्यापार अधिकृत गोकर्णप्रसाद सिटौलाको अकृत सम्पत्ति आर्जनको अनुसन्धान फाइल तामेलीमा हालेको छ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलामको पनि गैरकानुनी सम्पत्ति आर्जनको फाइल तामेलीमा चढेको हो। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर प्याकुरेलदेखि लुम्बिनी सांस्कृतिक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेसम्मको अकुत सम्पत्ति आर्जनको फाइल अख्तियारले तामेलीमा राखेको छ। काठमाडौं महानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत श्यामप्रसाद पाण्डे र काठमाडौं महानगरपालिकाका कै प्रशासकीय अधिकृत सुदर्शन भट्टराईको अकुत सम्पत्ति आर्जनको फाइल तामेलीमा राखिएको हो।
मालपोत कार्यालय सप्तरीका अधिकृत दिपेन्द्रकुमार झा, डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत किशोरकुमार धामी, सडक डिभिजन पाटनका सिनियर डिभिजनल इन्जिनियर कृष्णनाथ ओझा, सिंचाई विभागका इन्जिनियर बिजेन्द्रप्रसाद गुप्ता, रौतहटको राजपुर नगरपालिकाका लेखा अधिकृत मनोजराज कर्ण, राजस्व अनुसन्धान कार्यालय, कोहलपुरका अनुसन्धान अधिकृत फणिन्द्रराज अर्याल र यातायात कार्यालय राधेराधेका कम्प्युटर अधिकृत राजेन्द्रप्रसाद भट्टराईको अकृत सम्पति आर्जनको फाइल तामेलीमा पुगेको छ।
राजस्व अनुसन्धान विभागका शाखा अधिकृत शिवचन्द्र पन्त, राजस्व समूहका शाखा अधिकृत पुष्करनाथ उप्रेती, बागमती नगर जग्गा एकीकरणका इन्जिनियर विनोद कुँवर, गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका वरिष्ठ निरीक्षक शम्भुकुमार झा, तत्कालीन काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर विश्व विजयलाल श्रेष्ठ, महाकाली सिंचाई आयोजनाका सिडिई रणबहादुर बमको अकुत सम्पत्ति आर्जनको फाइल तामेलीमा पुगेको हो।
तत्कालीन अध्यागमन अधिकृत विकास डंगोल, गृह मन्त्रालयका शाखा अधिकृत राजेन्द्रप्रसाद गौतम, व्यास नगरपालिकाका अधिकृत आठौं राजेन्द्र कार्की, नापी अधिकृत उमेश कुमार, मालपोत कार्यालय चाबहिलका नायब सुब्बा उर्वशा थापा र खरिदार लक्ष्मण बस्नेत र नेपाल टेलिकमका अवकाशप्राप्त अधिकृत हरिबहादुर केसीको अकृत सम्पत्ति आर्जको फाइल तामेलीमा पुगेको छ। पशुपति क्षेत्र विकास कोषमा बाजा बजाउने पदमा कार्यरत कर्मचारीहरू सञ्चय कपाली, कुमार दमाई र अनिल परियारको फाइल समेत तामेलीमा हालिएको हो।
अकुत सम्पत्ति आर्जनमा अनुसन्धान फितलो हुँदा धेरै फाइलहरू तामेलीमा पुग्ने गरेको आरोप लाग्दै आएको छ। अख्तियारको तामेलीका फाइल हेर्दा त्यो कुरामा दम देखिन्छ।







तपाईको प्रतिक्रिया दिनुहोस