पञ्चायतको इनाम घोषणाबाट खुमबहादुर खड्कालाई जोगाएको ऐतिहासिक घर


दाङ । पञ्चायत शासन वि.सं. २०१७-२०४६ नेपालको राजनीतिक इतिहासको सबैभन्दा दमनकारी कालखण्ड हो। राजनीतिक दलहरू प्रतिबन्धित थिए, विचार राख्नु अपराध मानिन्थ्यो र सत्ता विरोधी गतिविधिमा संलग्न नेताहरू राज्यको निगरानी, गिरफ्तारी र ज्यानको जोखिममा बाँच्न बाध्य थिए। नेपाली कांग्रेससहित सबै प्रतिपक्षी दलका नेता–कार्यकर्ता खुला रूपमा राजनीति गर्न नसक्ने अवस्थामा थिए।

यही राजनीतिक दमनको सन्दर्भमा नेपाली कांग्रेसका सक्रिय नेता खुमबहादुर खड्का पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा संलग्न रहँदा लामो समय भूमिगत जीवन बिताउन बाध्य भए। पञ्चायती राज्य संयन्त्रले उनलाई ‘देखेकी मार्ने’ आदेश दिएको र टाउको काटे ५० हजार रुपैयाँ इनाम दिने घोषणा गरेको स्थानीयहरू स्मरण गर्छन्।

अनकन्तार जङ्गलभित्रको सुरक्षित थलो
दाङको दुर्गम क्षेत्रमा रहेको एउटा घर, आज ‘भैंसपत्र’ भनेर चिनिने ठाउँ, खुमबहादुर खड्काको भूमिगत बसाइको सुरक्षित आश्रय बन्यो। त्यतिबेला उक्त घरमा पुग्नु लगभग असम्भव थियो। डाँडोमाथि छिटफुट घर र घोडामात्र यातायातको साधन।

डाक्टर सुरेश रसाइली भन्छन्,“त्यो बेला यहाँ मान्छे पुग्ने अवस्था नै थिएन। आज जति विकास भएको छ, त्यो बेलामा कल्पनै गर्न सकिँदैनथ्यो।” महिलाहरूको सामूहिक प्रतिकारबाट उक्त क्षेत्रको सुरक्षा हुन्थ्याे ।अपरिचित मानिस आए दाउरा, घोडा र सामूहिक प्रतिकार प्रयोग गरेर भित्र पस्न दिइँदैनथ्यो। डाँडो पार गरेर कोही पनि सजिलै आउन सक्ने अवस्था थिएन।

राज्यका सूचक वा सुरक्षाकर्मी पुग्न नदिन स्थानीयहरूले कडा निगरानी राख्थे। डाक्टर रसाइली आफ्ना बाजे लैराम सुनारलाई सम्झिँदै भन्छन्, “त्यो बेला गाउँ नै थिएन। एउटा डाँडो र छिटफुट घर थियो—हाम्रो घर। त्यही घरको बुइकलमा खुमबहादुर खड्का लुकेर बस्नुहुन्थ्यो।”

पञ्चायतको यातना र त्रासको वातावरण
धरना स्कुलमा कागजको मूर्ति जलाइएपछि पञ्चायतीहरूले घोराही र तुलसीपुरको कच्ची सडकमा गाडीको पछाडि बोरा झुन्ड्याएर यातना दिने गरेको स्थानीय जानकारहरूले सुनाउँछन्। यस्तो दमन, गिरफ्तारी र हत्या सम्मको जोखिमबीच खुमबहादुर खड्काको भूमिगत बसाइ केवल व्यक्तिगत सुरक्षाका लागि मात्र थिएन, त्यो प्रजातान्त्रिक आन्दोलन जोगाउने रणनीतिक आवश्यकता पनि थियो।

 गोप्य राजनीतिक गतिविधि
पञ्चायतकालमा राज्यको निगरानी चर्किँदै गएपछि खुमबहादुर खड्काले भारततर्फ निर्वासन जीवन बिताउनुपर्‍यो। निर्वासनमा रहँदै उनि नेपाली कांग्रेसका संगठनात्मक गतिविधि, सम्पर्क विस्तार र प्रजातन्त्र पुनःस्थापनासम्बन्धी राजनीतिक प्रयासहरूमा संलग्न रहे ।

उपलब्ध सार्वजनिक अभिलेख र समाचार स्रोतहरूले खुमबहादुर खड्कालाई सशस्त्र विद्रोहको नेतृत्वकर्ता भनेका छैनन्। उनकाे भूमिका पञ्चायतकालीन निषेधित राजनीतिक संघर्ष, गोप्य संगठन निर्माण र निर्वासनको राजनीतिक जीवनसँग जोडिएको देखिन्छ।

आज पनि दाङमा जीवित स्मृति
पञ्चायतकालमा भूमिगत बसाइ र निर्वासनको राजनीतिक जीवन बिताएका खुमबहादुर खड्काको स्मृति दाङमा आज पनि गहिरो छ। उनको निधन भइसके पनि यहाँका नागरिकहरूमा उनि कुनै इतिहासको पाना बनेर हराएका छैनन्। बरु, उनले बनाएका संरचना, सुरु गराएका विकासका काम र परिवर्तनका पहलहरूले आज पनि उनलाई जीवितजस्तै बनाइरहेका छन्।

दाङका विभिन्न स्थानमा देखिने डिप बोरिङ, खानेपानी, पूर्वाधार र अन्य विकासका कामहरू देखाउँदै स्थानीयहरू अझै पनि गर्वका साथ सम्झन्छन्, “यो खुमबहादुरले बनाएको हो।” स्थानीयहरू भन्छन्, “खुमबहादुर मरेका छैनन्, उनले बनाएका संरचना र गरेका कामहरू यहाँ छन्।”

भूमिगत बुइकलदेखि विकासका संरचनासम्म
पञ्चायतकालमा ज्यान जोगाउन लुकेको एउटा घरको बुइकलदेखि बहुदलीय व्यवस्थापछि दाङमा देखिएका विकासका संरचनासम्मको यात्रा खुमबहादुर खड्काको राजनीतिक जीवनको सार हो। एकातिर पञ्चायतको इनाम घोषणाबाट जोगिन अनकन्तार जङ्गलभित्र लुकेर बसेको इतिहास छ भने अर्कोतिर, प्रजातन्त्र आएपछि जिल्लामा देखिएको विकासको छाप पनि छ।

त्यसैले आज दाङका नागरिकहरूले खुमबहादुरलाई सम्झँदा केवल पञ्चायतकालीन भूमिगत नेता मात्र सम्झँदैनन्। उनीहरूले आफ्नो जीवनमा प्रत्यक्ष असर पारेको नेतृत्व सम्झिरहेका छन्।

मौन घर
आज पनि पञ्चायतकालमा भूमिगत राजनीति जोगाएको त्यो घर मौन छ। तर दाङका बस्तीहरूमा फैलिएका संरचना र विकासका कामहरू बोलिरहेका छन्।

एकातिर इतिहास बोकेको घर, अर्कोतिर जनजीवनमा जरा गाडेको स्मृति। खुमबहादुर खड्का शारीरिक रूपमा नहुन सक्छन्, तर दाङमा उनि इतिहास, विकास र स्मृतिमा जीवित छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ