बर्दिया राष्ट्रिय निकुञ्जमा पानीको गहिरिँदो संकट: अवैध उत्खननले तिर्खाएका वन्यजन्तु र मानव बीच चर्किँदै द्वन्द


बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मुटु मानिने बबई नदी अहिले निकुञ्जभित्र पर्याप्त रूपमा प्रवेश गर्न छोडेको छ। नदीमा भइरहेको अवैध गिटी–बालुवा उत्खननका कारण नदीको सतह अस्वाभाविक रूपमा गहिरिनुका साथै पानीको प्राकृतिक बहाव समेत परिवर्तन हुन थालेको छ ।

अधिकांश पानी निकुञ्जतर्फ नआई गहिरो खोँचतर्फ बग्न थालेपछि निकुञ्जभित्रका बाघ, गैंडा, हात्ती, चितुवा लगायतका वन्यजन्तु गम्भीर पानी संकटमा परेका छन्। यसमा जलवायु परिवर्तनले थप असर पुर्‍याउँदै वर्षा घट्नु र पानीका प्राकृतिक स्रोत सुक्दै जानु पनि प्रमुख कारण बनेको छ।

पानीको अभावका कारण वन्यजन्तुहरू पानी र घाँसको खोजीमा निकुञ्ज बाहिर निस्कन बाध्य भएका छन्। यसले बस्ती र जंगलबीचको दूरी झनै साँघुरो बनाएको छ।

वन्यजन्तुलाई बचाउन ५० भन्दा बढी सोलर प्यानल जडान गरि कृत्रिम पोखरीमा वर्षभरि पानी झर्ने व्यवस्था व्यवस्था गरिएको छ। निकुञ्ज प्रशासनले तत्काल राहतका लागि विभिन्न स्थानमा सोलार पम्प जडान गरी बोरिङमार्फत अस्थायी पोखरी निर्माण गरेको भए पनि यी उपाय दीर्घकालीन समाधान हैन।

निकुञ्जका प्रमुख संरक्षण अधिकृतका अनुसार बबई नदीको पानी निकुञ्जतर्फ नआउँदा वन्यजन्तु बस्तीमा पस्ने अवस्था सिर्जना भएको छ, जसले द्वन्द्वको जोखिम बढाएको छ। पानी र चरनको अभावसँगै मानव–वन्यजन्तु द्वन्द्व बर्दिया र बाँके क्षेत्रमा गम्भीर बन्दै गएको छ। पछिल्ला पाँच वर्षमा मात्र यी क्षेत्रमा ७६ वटा ठूला द्वन्द्वका घटना भएका छन्, जसमा ५४ जनाले ज्यान गुमाएका छन्।

सन् २०१९ देखि २०२३ को अवधिमा बाघले मात्रै १८ जनाको ज्यान लिएको तथ्यांक छ। पछिल्ला केही महिनामा चितुवाका आक्रमण झनै बढेका छन्। एक महिनाभित्र तीन जनाको मृत्यु र ११ जना घाइते भएका छन् भने फागुन ५ गते मात्र एक ३५ वर्षीय पुरुष चितुवाको आक्रमणमा मारिएका थिए।

स्थानीयवासीहरूका अनुसार जंगल फँडानी, अवैध अतिक्रमण र बारम्बार लाग्ने डढेलोका कारण बस्ती र निकुञ्जबीचको प्राकृतिक दूरी घट्दै गएको छ। गरिबी र जीविकोपार्जनको बाध्यताले मानिसहरू घाँस–दाउरा र काठ लिन जंगल पस्नुपर्ने अवस्था अझै हट्न सकेको छैन। यही कारण बाघ र चितुवाले मानिसलाई आक्रमण गर्ने घटनाहरू बढ्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख गोगनबहादुर हमालले पनि वन्यजन्तु र मानिसबीचको दूरी अस्वाभाविक रूपमा नजिकिँदै गएको र यसले जोखिम बढाएको स्वीकार गर्छन्। उनका अनुसार स्थानीय बासिन्दाले घाँस–दाउरा लिन जंगल नजानु अहिलेको अवस्थामा सम्भव नभए पनि अब त्यसलाई सुरक्षित बनाउने उपाय अनिवार्य भइसकेको छ। उनले बबई नदीको सन्दर्भमा सिँचाइ र नदी कटानको विषयलाई गम्भीर रूपमा ध्यान दिनुपर्ने अवस्था आएको उल्लेख गर्दै, नदी गहिरिँदै जाँदा पानीको बहाव परिवर्तन भई निकुञ्जभित्र पानी नपुग्ने समस्या झनै जटिल बन्दै गएको बताए। अब नदीको बहाव व्यवस्थापन र कटान नियन्त्रणलाई एकीकृत रूपमा सुधार गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

पर्यावरणीय दृष्टिले हेर्दा अवैध उत्खनन, जंगल फँडानी, आगलागी, जलवायु परिवर्तन र बफर जोनमा बढ्दो अतिक्रमण सबैले वन्यजन्तुलाई तनावमा पारेका छन्। सन् २०१२ मा मात्र निकुञ्जको करिब ७० प्रतिशत क्षेत्र डढेलोले क्षति पुर्‍याएको थियो। यस्ता दबाबले वन्यजन्तुको रोग प्रतिरोधात्मक क्षमता घटाउँदै लैजाने र मानिस तथा पशुचौपायासँगको नजिकको सम्पर्कका कारण रेबिज, लेप्टोस्पायरोसिस, ब्रुसेलोसिसजस्ता जुनोटिक रोगको जोखिम पनि बढ्ने स्वास्थ्य विज्ञहरूको चेतावनी छ।

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालकै महत्वपूर्ण बाघ संरक्षण क्षेत्र हो। यहाँको पानी स्रोत, नदी प्रणाली र बासस्थान जोगाउन नसकेमा यसको असर वन्यजन्तुमा मात्र सीमित रहँदैन, स्थानीय समुदायको जीवन र सुरक्षामाथि पनि गम्भीर खतरा उत्पन्न हुन्छ। त्यसैले अवैध उत्खनन नियन्त्रण, नदी बहाव व्यवस्थापन, स्थायी पानी स्रोत निर्माण, बफर जोन सुदृढीकरण, वैकल्पिक जीविकोपार्जन र तत्काल क्षतिपूर्ति प्रणालीलाई प्रभावकारी बनाउँदै सरकार, संरक्षण निकाय र स्थानीय समुदायबीच तत्काल र समन्वित पहल अपरिहार्य देखिएको छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ