जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले ‘फलाम चुस्ने, खरानी चाट्ने’ कर्मचारीबाट गऱ्यो मोक्ष प्राप्ति
समाचार टिप्पणी
काठमाडौं। ‘जेन-जी’ आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलेर पूर्ण रूपमा ध्वस्त भयो। संसद्लाई भाडामा दिएर राजनीतिक दलका कार्यकर्ता भर्ति गरिदै आएको उक्त केन्द्रमा ४ दर्जन करारका कर्मचारी थिए। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति अन्तर्गत रहेको उक्त संरचना जलेर ध्वस्त भएपछि संसद भवन त्यहाँबाट हट्यो। आम्दानीको स्रोत पनि सुक्यो। तर, पनि ४ महिनासम्म केन्द्रका करार र अस्थायी कर्मचारीलाई बिना काम समितिले तलब खुवायो। भग्नावशेष संरचनालाई गिऱ्याउँदै ति कर्मचारीहरू हाजिर गरेर तलब थाप्दै आएका थिए। यति हुँदा पनि केही ‘फलाम चुस्न, खरानी चाट्न’ पल्किएकाहरू कर्मचारीहरू जागिर लम्ब्याउन दौडधुप गरिरहेका थिए। समितिको बैठक उनीहरूको म्याद नथप्ने निर्णय गरेको हो।
समितिको बैठक चलिरहँदा करारका अधिकृत चिरञ्जीवी बुढाथोकीको नेतृत्वमा मन्त्रालय घेराउ गरिएपनि समितिले म्याद नथप्ने निर्णय गरेको छ। केन्द्रका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्र बिक्रम सिंहले करार र अस्थायी कर्मचारीको म्याद थप नगर्ने निर्णय भएको जानकारी दिए। लामो समयको चलखेलपछि अन्ततः काम नै नभएका राजनीतिक दलका कार्यकर्ता भर्ति केन्द्र बनेको उक्त सम्मेलनमा केन्द्रमा रहेका कर्मचारीको करार समाप्त भएको छ। करारका कर्मचारी हटेसँगै जलेर ध्वस्त बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले मोक्ष प्राप्ति गरेको टिप्पणी हुन थालेको छ। यसले केन्द्रमा कुन तहको ‘लुट’ थियो भन्ने प्रस्ट हुन्छ।
केन्द्रमा रहेका स्थायी कर्मचारीलाई समेत उचित व्यवस्थापन गर्न सकिएको छैन। उनीहरू पनि करारका कर्मचारी जस्तै ‘फलाम चुस्ने, खरानी चाट्ने’ अवस्थामा छन्। यस्तो अवस्थामा करारका कर्मचारीलाई समेत त्यहिँ काममा राख्न निकै ठूलो चलखेल भयो। अन्ततः उक्त चलखेलले फेल खायो। अन्ततः केन्द्रले मोक्ष प्राप्ति गऱ्यो।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिकृतस्तरमा मात्रै चिरञ्जीवी बुढाथोकी, सैयद मोहम्द इमरान, पद्माश्री कोइराला, अमृत नेपालसहित आधा दर्जन कर्मचारी रहेका थिए। एउटै निर्णयले उनीहरू बिदा भएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस