लागूऔषधमुक्त स्वस्थ समाज निर्माण अबको लक्ष्य
काठमाडौं । लागूऔषध नियन्त्रण सम्बन्धी व्यवस्था र कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले राजधानीमा चारदिने कार्यक्रम सुरु भएको छ। कार्यक्रममा बोल्दै गृह मन्त्रालयका उपसचिव नवराज जैशीले लागूऔषधमुक्त, स्वस्थ र समुन्नत समाज निर्माण नै राष्ट्रिय रणनीतिको दीर्घकालीन सोच रहेको बताएका छन्।
उनका अनुसारलागू औषध नियन्त्रण ऐन, २०३३ बढ्दो लागूऔषध कारोबार, दुव्यसन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि आवश्यक कानुनी आधार हो। ऐनले लागूऔषधको खेती, उत्पादन, निर्माण, खरिद–बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा आयात–निर्यातमा नियन्त्रण गर्ने व्यवस्था गरेको छ।
देशभर सञ्चालनमा रहेका ३५ वटा पुनर्स्थापना केन्द्र (रिह्याब) बाट सहभागी स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिँदै जैशीले ऐनका मुख्य प्रावधानबारे जानकारी गराए। उनका अनुसार ऐनमा मुद्दा नचलाउने वा सजाय छुट दिने अधिकार, मुद्दा हेर्ने अधिकारी तथा पुनरावेदन सम्बन्धी व्यवस्था, म्याद थपसम्बन्धी विशेष प्रावधान, चिकित्सकलाई उपचारका लागि विशेष छुट तथा सेवनकर्तालाई उपचार केन्द्र पठाउन सक्ने व्यवस्था समावेश गरिएको छ।
लागूऔषध के हो?
केन्द्रीय स्नायु प्रणालीमा असर पारेर व्यक्तिको बानी, व्यवहार, सोचाइ र बुझाइमा परिवर्तन ल्याउने र स्वस्थ शरीरका लागि आवश्यक नपर्ने रासायनिक पदार्थलाई लागूऔषध भनिन्छ। ऐनअनुसार गाँजा, अफिम, कोकाको झारपात तथा तिनबाट तयार गरिएका पदार्थहरू र सरकारले तोकेका प्राकृतिक वा कृत्रिम मनोद्दीपक पदार्थहरू लागूऔषध अन्तर्गत पर्छन्।
दुव्र्यसनका कारण र असर
विशेषज्ञहरूका अनुसार साथीहरूको दबाब, मनोरञ्जन, उत्सुकता, मानसिक तनाव, पारिवारिक समस्या, डिप्रेसन तथा अध्ययनसम्बन्धी समस्या लागूऔषध प्रयोगका प्रमुख कारण हुन्। यसको असर शारीरिक, मानसिक तथा सामाजिक जीवनमा गम्भीर रूपमा देखिन्छ।
शारीरिक रूपमा एचआईभी/एड्स, हेपाटाइटिस जस्ता संक्रमण, तौल घट्ने, ओभरडोजको जोखिम बढ्ने सम्भावना रहन्छ। मानसिक रूपमा डिप्रेसन, स्मरणशक्ति ह्रास, नकारात्मक सोच तथा आत्महत्याको जोखिम बढ्न सक्छ। पारिवारिक तथा सामाजिक रूपमा झगडा, चोरी, आर्थिक ह्रास र सामाजिक विघटनजस्ता समस्या देखिन्छन्।
कसरी चिन्ने दुव्र्यसन?
असामान्य व्यवहार, अत्यधिक रिसाउने, शरीर दुब्लाउँदै जानु, अनावश्यक रूपमा पैसा माग्नु, कोठामा सुई, ब्लेड, लाइटर जस्ता सामग्री भेटिनु, पढाइमा गिरावट आउनु जस्ता लक्षणहरू दुव्र्यसनका संकेत हुन सक्छन्। विशेषज्ञहरूका अनुसार यस्तो अवस्थामा समयमै परामर्श तथा उपचार आवश्यक हुन्छ।

उपचार सम्भव
कार्यक्रममा सहभागीहरूले लागूऔषध सेवन सामाजिक अपराध नभई उपचारयोग्य रोग भएको स्पष्ट पारे। व्यक्ति जन्मजात दुव्र्यसनी नहुने र सामाजिक परिवेशका कारण यसमा फस्ने भएकाले परिवार र समुदायको भूमिका महत्वपूर्ण हुने बताइएको छ। सुधार क्रमिक प्रक्रिया भएकाले सक्रिय सहभागिता र निरन्तर उपचार आवश्यक हुने चिकित्सकहरूको भनाइ छ।
नेपालमा वर्तमान अवस्था
नेपालमा हाल करिब ३५७ पुनर्स्थापना केन्द्र सञ्चालनमा छन्। काठमाडौं, ललितपुर, झापा, चितवन, सुनसरी, रुपन्देही, बाँके, कैलाली, कास्की, दाङ, मोरङ, पर्सा र बर्दिया जिल्लामा बढी केन्द्र सञ्चालनमा रहेका छन्। तथ्यांक अनुसार अनुमानित २५ हजार व्यक्ति पुनर्स्थापना केन्द्रमा उपचाररत छन्।
लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा कुल १ लाख ३० हजार ४२४ प्रयोगकर्ता रहेका छन्, जसमध्ये ८ हजार ७ सय ३२ महिला र १ लाख २१ हजार ६ सय ९२ पुरुष छन्। विकसित देशमा प्रयोग दर ७ प्रतिशत रहेकोमा विकासोन्मुख देशमा २८ प्रतिशतसम्म पुगेको तथ्यांक प्रस्तुत गरिएको छ।
कार्यक्रमका सहभागीहरूले कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन, जनचेतना अभिवृद्धि, उपचार तथा पुनर्स्थापना सेवाको विस्तार र समुदायस्तरमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : जीवनशैली, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस