३ करोड नेपालीको भाग्यको फैसला एक दिनमा, १४ हजार चिकित्सकको भाग्यको फैसला गर्न ५ दिन
काठमाडौं । राणा शासनको अन्त्यसँगै २० फागुन २००७ मा स्थापना भएको नेपाल चिकित्सक संघ देशकै सबैभन्दा पुराना पेशागत संस्थामध्ये एक हो। सात दशकभन्दा लामो इतिहास बोकेको यो संस्थाले चिकित्सकहरूको पेशागत हकहितदेखि स्वास्थ्य नीतिसम्म प्रभाव पार्दै आएको छ। तर, यति लामो यात्रापछि पनि यसको नेतृत्व चयन प्रक्रिया र शक्ति सन्तुलनमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।
नेपालमा करिब १ करोड १५ लाखभन्दा बढी मतदाताले एकै दिन मतदान गरेर देशको नेतृत्व चयन गर्ने अभ्यास रहेको अवस्थामा, करिब १४ हजार सदस्य रहेको चिकित्सक संघले भने पाँच दिन लगाएर नेतृत्व छान्ने कार्यतालिका सार्वजनिक गरेको छ।
काठमाडौँ बाहिर २१ र २२ तथा उपत्यकाभित्र २८, २९ र ३० गते मतदान हुने व्यवस्था गरिएको छ। डिजिटल स्वास्थ्य र प्रविधिमैत्री सेवाको वकालत गर्दै आएको संस्थाको यो शैलीलाई धेरैले “पुरानो मोडल” को निरन्तरता मानेका छन्।
७० वर्षको इतिहास, एउटै धारको वर्चश्व
चिकित्सक संघको नेतृत्वमा अहिलेसम्म प्रायः “प्रजातान्त्रिक” धारका चिकित्सकहरूको वर्चश्व रहँदै आएको छ, जसलाई नेपाली कांग्रेस निकट मानिन्छ।
सात दशक बितिसक्दा पनि नेतृत्वमा यही समूहको निरन्तरता रहनु “संस्थागत विविधताको अभाव” को रूपमा समेत व्याख्या हुँदै आएको छ। यसपटकको निर्वाचनले भने त्यो परम्परा तोड्ने वा निरन्तरता दिने भन्ने चासो बढेको छ।
३०औं कार्यकारिणीका लागि कडा प्रतिस्पर्धा
संघको ३०औं कार्यकारिणी समितिका लागि यसपटक दुई प्रमुख प्यानलबीच प्रतिस्पर्धा देखिएको छ।
कांग्रेस निकट प्यानलबाट डा. बद्री रिजाल अध्यक्ष, वरिष्ठ उपाध्यक्ष डा. सञ्जीव तिवारी, महासचिव: डा. विश्वराज दवाडी, कोषाध्यक्ष: डा. संयुक्त आचार्य, सह–महासचिव, डा. हुलास अग्रवाल, सह–कोषाध्यक्ष: डा. तेजसिंह मल्ल लगायत छन् ।
यता एमाले निकट प्यानलबाट डा. मङ्गल रावल नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्ष: डा. कीर्तिपाल सुवेदी, महासचिव: डा. कालुसिंह खत्री लगायत रहेका छन् ।
दुवै पक्षले “परिवर्तन, पारदर्शिता र संस्थागत सुधार” लाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
परम्परा तोडिने संकेत
वर्षौंदेखि कांग्रेस निकट समूहले नेतृत्व सम्हाल्दै आएको चिकित्सक संघमा यसपटक भने समीकरण बदलिने संकेत देखिएको छ।
चिकित्सक वृत्तमा गरिएको आन्तरिक मूल्यांकन अनुसार डा. मङ्गल रावल नेतृत्वको प्यानल यसपटक तुलनात्मक रूपमा बलियो देखिएको छ। यदि त्यसो भयो भने, संघको इतिहासमै पहिलो पटक नेतृत्वमा ठूलो राजनीतिक सन्तुलन परिवर्तन हुन सक्छ।
तर, अर्कोतर्फ देशको समग्र राजनीतिक परिवेश नै कांग्रेस–एमाले केन्द्रित संरचनाबाट बाहिर जाँदै गरेको सन्दर्भमा चिकित्सक संघको निर्वाचनमा पनि “अप्रत्याशित नतिजा” आउने सम्भावना नकार्न सकिदैन ।
डिजिटल युगमा पुरानो प्रणाली
चुनावी प्रतिस्पर्धा जति रोचक देखिए पनि निर्वाचन प्रणाली भने विवादको केन्द्रमा छ। १४ हजार सदस्यको मतदानका लागि ५ दिन भौतिक उपस्थितिमा निर्वाचन गरिने छ ।
स्वास्थ्य क्षेत्रमा डिजिटल सेवा, प्रविधिमैत्री प्रणाली र सुधारको वकालत गर्ने संस्थाले आफ्नै निर्वाचनमा आधुनिक प्रणाली अपनाउन नसक्नु “नेतृत्वको विश्वसनीयता” सँग जोडिएको विषय बनेको छ। नेपाल चिकित्सक संघको यो निर्वाचन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, यो संस्थाको सोच, क्षमता र भविष्यको दिशाको पनि परीक्षा हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस