प्रशासनमा ‘रास्वपा–बालेन’ नामको दुरुपयोग? नयाँ समूहको शक्ति अभ्यासले उच्च तहमा तरङ्ग


काठमाडौँ । नेपाली राजनीतिमा परम्परागत बेथिति र कर्मचारीतन्त्रको दलीयकरणविरुद्ध चर्को आवाज उठाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको नेतृत्व सम्हाल्न लागेका बालेन्द्र शाहको नाम जोडेर निजामती प्रशासनभित्र नयाँ ‘शक्ति अभ्यास’ सुरु भएको छ । उक्त समूहका कारण प्रशासनिक वृत्तमा ठूलो तरङ्ग पैदा गरेको छ।

पछिल्लो समय प्रशासन सुधारका नाममा ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२’ नामक एक समूह सक्रिय देखिएको छ। यो समूहले आफूलाई ट्रेड युनियनकै शैलीमा प्रस्तुत गरिरहेको मात्र होइन, यसका नेतृत्वकर्ताहरूले आफ्नो सम्बन्ध सिधै राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहसँग रहेको दाबी गर्दै हिँडेको सूचना बाहिरिएको छ।

तर, आफूलाई ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२’ नाम दिएर हिँडेका व्यक्तिहरूले बालेनको छायासम्म पनि देख्ने सम्भावना नरहेको बताइन्छ। बालेनको नाम प्रयोग गरेर कर्मचारी तर्साउने र आफ्नो उद्देश्य पूरा गर्ने प्रयासबाहेक अन्य कुनै स्पष्ट उद्देश्य नदेखिएको टिप्पणी पनि हुन थालेको छ।

यस अभियानमा जोडिएका कर्मचारीहरूको विगतको पृष्ठभूमि र कार्यशैलीप्रति अहिले आम कर्मचारीहरूले चासो र संशय व्यक्त गर्न थालेका छन्। “सुधारको नारा दिनेहरूको आफ्नै आचरण कस्तो छ?” भन्ने प्रश्न निजामती सेवाभित्र भुसको आगोझैँ फैलिएको छ। मन्त्रालय, विभाग र शाखास्तरसम्म उनीहरूको विगतको नैतिक आचरणबारे चर्चा हुन थालेको छ।
पुरानै ‘सिन्डिकेट’को नयाँ रूप?

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा सरकारी क्षेत्रका ट्रेड युनियनहरू खारेज गर्ने र कर्मचारीलाई पूर्णतः तटस्थ बनाउने सङ्कल्प गरेको थियो। दुई तिहाइ मतद्वारा अनुमोदित उक्त वाचापत्र कार्यान्वयन गर्नु बालेन सरकार र रास्वपा दुवैको नैतिक दायित्व मानिन्छ।

तर, ट्रेड युनियन खारेजीको बहस चलिरहँदा विगतमा जस्तै निजामती प्रशासन थर्काउने विकृतिलाई निरन्तरता दिनकै लागि नयाँ समूह खडा गरिएको त होइन भन्ने गम्भीर प्रश्न उच्च प्रशासकहरूले उठाउन थालेका छन्। उक्त समूहको अभिव्यक्ति हेर्दा र सुन्दा पनि विगतको झल्को दिने आभास हुन थालेको छ।
प्रशासनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनको हवाला दिँदै नयाँ समूहको सक्रियता बढ्न थालेपछि स्वास्थ्य लाइभले उक्त समूहमाथि निगरानी गरिरहेको छ।

‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२’ को रहस्यमय सक्रियता, सम्बन्धित कर्मचारीहरूको आचरण र पृष्ठभूमिबारे एक सचिवले भने, “नयाँ सरकारको नीति यस्ता स्वघोषित समूहहरूको वकालत गर्ने देखिँदैन। त्यसैले कुनै शक्ति केन्द्रसँग सम्बन्ध छ भन्दै हिँड्नु केवल कर्मचारीतन्त्रमा डर र त्रास सिर्जना गरी व्यक्तिगत स्वार्थ पूर्ति गर्ने वैशाखी मात्र हुन सक्छ।”

यदि राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन सरकारसँग यस समूहको कुनै सम्बन्ध छैन भने, उनीहरूको नाम दुरुपयोग गरेर प्रशासनमा भइरहेको गतिविधिमाथि कस्तो कदम चालिन्छ भन्ने अहिले आम कर्मचारी र सर्वसाधारणको चासोको विषय बनेको छ। के रास्वपा र बालेनले यस ‘अभियान’बारे आधिकारिक धारणा सार्वजनिक गरेर अन्योल चिर्लान् भन्ने प्रश्न पनि उठ्न थालेको छ।

यस विषयमा बालेन टिमका सदस्य र रास्वपा नेतृत्वसँग जिज्ञासा राख्दा उनीहरूले उक्त समूहलाई नियालिरहेको बताएका छन्। “हामीले कसैलाई भेट्ने वा अभियानमा जोडिने कुरा गरेका छैनौँ। अहिलेको सरकार काममा केन्द्रित छ, यस्ता हल्लाका पछाडि लाग्दैन,” ती अधिकारीले भने।

उनका अनुसार कुनै पनि स्वार्थ समूहले रास्वपामा स्थान पाउने अवस्था छैन। रास्वपाको नाम जोडेर कुनै पनि समूहले कर्मचारीहरूलाई त्रसित बनाउने काम वर्तमान सरकारलाई स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ