निजामती प्रशासनमा ‘रास्वपा’ नाम जोडेर गतिविधि नगर्न आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले निजामती प्रशासनभित्र आफ्नो नाम जोडेर विभिन्न समूह, अभियान वा गतिविधि सञ्चालन भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य लाइभ मिडियाले बिहिवार प्रशासनमा ‘रास्वपा–बालेन’ नामको दुरुपयोग? नयाँ समूहको शक्ति अभ्यासले उच्च तहमा तरङ्ग शिर्षकमा समाचा प्रकाशित गरे लगत्तै रास्पाले एक विज्ञप्ति जारी गर्दै उक्त गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
पार्टीले स्थापना कालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनु पर्ने धारणा राख्दै आएको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनमार्फत पनि यही प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी द्वारा जारी विज्ञप्तिमा निजामती सेवाभित्र विभिन्न नामका समूह वा अभियान सञ्चालन गर्दै पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिसँग पार्टीको कुनै पनि प्रकारको संलग्नता, समर्थन वा सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
पार्टीले निजामती प्रशासनभित्र गठन भएका कुनै पनि समूह, अभियान वा युनियन शैलीका संरचनासँग आफ्नो सम्बन्ध नरहेको जनाउँदै आफ्नो नाम जोडेर स्वार्थ सिद्ध गर्न खोज्ने प्रयासप्रति सचेत रहन आग्रह गरेको छ।
त्यस्तै, कर्मचारीको प्रमुख धर्म जनसेवा र व्यावसायिकता भएको उल्लेख गर्दै कुनै पनि राजनीतिक दलको प्रभावमा नपरी निष्पक्ष, तथ्यपरक र जिम्मेवार ढंगले काम गर्न कर्मचारीहरूलाई अपिल गरिएको छ।
विज्ञप्तिमा प्रशासनिक संयन्त्रलाई राजनीतिक दबाब, त्रास वा प्रभावबाट मुक्त राख्दै योग्यता प्रणालीका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ। साथै, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि दल वा समूहको प्रभावमा नपरी जनताको सेवामा समर्पित हुन आग्रह गरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस