समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण
काठमाडौं। तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेको विरोधमा भएको प्रदर्शनको समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि आज भएको कुटपिट र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
एमाले पार्टी कार्यालय च्यासलमा समाचार संकलनमा खटिएका महासंघ उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईलाई उत्तेजित एमाले कार्यकर्ताले लात्तीले हानेर लछारपछार गरेको महासंघ काठमाडौं शाखाले जनाएको छ ।
यस्तै कान्तिपुरका पत्रकार दया दुदराज, अनलाइनखबरका कौसल काफ्ले र प्रसुन संग्रौलालाई फोटो खिच्न खोज्दा गाली गर्दै दुर्व्यवहार गरेको जानकारी महासंघमा प्राप्त भएको छ ।
एमाले बैठकको समाचार संकलनमा पुगेका सञ्चारकर्मीहरूलाई एमाले कार्यकर्ताले दुर्व्यवहार गरी पार्टी कार्यालय परिसरबाट लखेटेका थिए । पत्रकारलाई कुटपिट, दुर्व्यवहार र लखेटने कार्य प्रेस स्वतन्त्रता विरोधी हर्कत हो । महासंघ यस कार्यको निन्दा र भत्र्सना गर्दछ ।
महासंघ यस्ता कुकर्ममा संलग्नहरूलाई अनुशासनको कारबाही गर्न सम्बद्ध पार्टीसँग र उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारका सम्बद्ध निकायसँग माग गर्दछ ।
गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि विभिन्न कोणबाट प्रश्न उठिरहेको बेला सरकारले त्यही प्रतिवेदनका आधारमा ओली र लेखकलाई पक्राउ गरेको छ । यसको विरोधमा थप प्रदर्शनहरू हुन सक्ने सम्भावना रहेकाले आन्दोलनको समाचार संकलनमा खटिदा पर्याप्त सुरक्षाको ख्याल गर्न सञ्चारकर्मी र प्रेसप्रति संयमता देखाउन आन्दोलनकारीसँग महासंघ विशेष आग्रह गर्दछ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस