सामान्यको जगेडामा आधा दर्जन बढी सहसचिव, ५ उपमहानगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडा (अतिरिक्त समूह)मा आधा दर्जन बढी सहसचिव रहेका छन्। तर, ५ वटा उपमहानगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। सहसचिवको दरबन्दीमा उपसचिव प्रमुख प्रशासकीय अधिकृत खटाएर सहसचिवलाई मन्त्रालयको जगेडामा राखिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा दुई महिना बढिदेखि सहसचिवहरू टेकनारायण पौडेल, सन्तोषकुमार दाहाल, चन्द्रप्रसाद भुसाल, दीपक ज्ञवाली, लेखनाथ ज्ञवाली र खिमबहादुर कार्की रहेका छन्। रामप्रसाद वाग्ले अतिरिक्त समूहबाट अध्यायन बिदामा रहेका छन्। त्यस्तै सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा दरबन्दी रहेका रामहरि ज्ञवाली राष्ट्रिय सुरक्षा परिषद्मा खटाइएका हुन्।

सामान्य प्रशासन मन्त्रालयमा आधा दर्जन बढी सहसचिव जगेडामा राखेर सहसचिवको दरबन्दी रहेको जनकपुरधाम, बाराको कलैया, दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिकामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ। सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कायम राखेको हो। एक महिनाभित्रै ५८ वर्ष लागेर अवकाशमा जान लागेका सहसचिव खिमबहादुर कार्कीबाहेक अन्यलाई तत्काल उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाउन सकिन्छ। यस्तो बेथितिलाई अन्त्य गर्न सहसचिवको दरबन्दी रहेका उपमहानगरपालिकामा तत्काल सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिवलाई खटाउन बालेन सरकारले एक्सन लिनुपर्ने देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ