गृहको जगेडामा ४ सहसचिव, सहसचिवको दरबन्दी भएका ५ जिल्लामा उपसचिव सिडिओ
काठमाडौं। गृह मन्त्रालयको जगेडामा ४ सहसचिव रहेका छन्। जेनजी आन्दोलनलगत्तै राष्ट्रपति गृह मन्त्रालय भित्रिएका निराजन घिमिरेदेखि डिजन भट्टराई, खडानन्द अधिकारी र प्रकाश पौडेल गृहको जगेडामा रहेका छन्। तर, सहसचिवको दरबन्दी रहेको जुम्ला, जाजरकोट, अछाम, डोटी र बैतडीमा उपसचिव सिडिओको कमाण्ड सम्हालेका हुन्।
सहसचिवको दरबन्दी भएका जुम्लामा उपसचिव दिपक पौडेल, जाजरकोटमा राजुप्रसाद पौडेल, अछाममा यज्ञ बहादुर बुढा, डोटीमा कल्पना घिमिरे नेपाल र बैतडीमा कृष्ण थापा सिडिओ रहेका छन्। उनीहरू उपसचिव कै हैसियतमा सिडिओ चलाउनेमा पर्छन्। तर, गृह मन्त्रालयको बरण्डामा सहसचिवहरू जगेडामा राखिएका हुन्।
निराजन घिमिरे राष्ट्रपति कार्यालयबाट गृह सरूवा भएर आएको ६ महिना बढी हुन लागिसकेको छ। डिजन भट्टराई र खडानन्द अधिकारी गृह छिरेको महिना दिन नाघिसकेको हो। तर, उनीहरूलाई अहिलेसम्म गृहको जगेडामा थन्क्याइएको हो। तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले उनीहरूलाई सिडिओको भूमिकामा नखटाइ राखेका थिए। बालेन सरकार आएपछि उनीहरू गृहको जगेडामै रहेका छन्।
गौरीबहादुर कार्की नेतृत्वको जेनजी घटना जाँचबुझ आयोगले पुरस्कृत गर्न सिफारिस गरेका सहसचिव प्रकाश पौडेल पनि जिम्मेवारीविहीन अवस्थामा रहेका छन्। जेनजी अगुवा सुदन गुरूङ गृहमन्त्री हुँदा पनि पौडेलले गृहमा जिम्मेवारी पाएका छैनन्। एक्सनमा उत्रिएका गृहमन्त्री गुरूङले दरबन्दीअनुसारको सिडिओ खटाउन ध्यान दिनुपर्ने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस