रमेश लेखक गृहमन्त्री हुँदा गृहमा रजगज गर्ने सहसचिवहरू
काठमाडौं। ‘जेन-जी’ आन्दोलन दमनकारी रमेश लेखक गृहमन्त्री हुँदा गृहमा ‘पर्वते ग्याङ’ हाबी थियो। हाल प्रहरी हिरासतमा रहेका तत्कालीन गृहमन्त्री लेखकलाई पर्वतका कर्मचारीले घेरेका थिए। उक्त ‘पर्वते ग्याङ’का उपसचिव बद्रीप्रसाद तिवारी तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव थिए। पर्वत कै रामचन्द्र तिवारी सुरक्षा तथा समन्वय महाशाखा प्रमुख र छविलाल रिजाल गृहको प्रशासन प्रमुखको भूमिकामा रहेका थिए। गृहमा रजगज गरेर काठमाडौंको सिडिओ बनेका रिजाललाई ‘पहिलो गाँसमै ढुंगा’ लाग्यो। लेखकले रिजाललाई काठमाडौं सिडिओ बनाएको महिना दिन नबित्दै ‘जेन-जी’ आन्दोलनका कारण उनले सिडिओको कुर्सी नै गुमाए। रिजाल प्रहरी अनुसन्धानको दायरामा तानिएका छन्।
रमेश लेखक गृहमन्त्री भएपछि सुनसरीको सिडिओबाट ल्याएर रामचन्द्र तिवारीलाई गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख बनाइयो। नक्कली भिजिट भिसा प्रकरण सार्वजनिक भएपछि लेखकले उक्त प्रकरणलाई ‘सेटल’ गराउन तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाए। ‘जेन-जी’ सरकार आउँदा पनि लेखकको ‘किचन क्याबिनेट’का सदस्य तिवारी संवेदनशील मानिएको अध्यागमन विभागमै रजगज गरिरहेका हुन्।
पर्वत कै रमेश ढकाललाई पनि ललितपुरको सिडिओ बनाइएको थियो। ढकाल अहिले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन्।
रिजालभन्दा अघि काठमाडौंको सिडिओमा तत्कालीन गृहमन्त्री लेखकले ऋषिराम तिवारीलाई पठाएका थिए। ऋषिरामको ‘कमजोर कमाण्ड’ देखिएपछि उनलाई तानेर छविलाई काठमाडौंको सिडिओ बनाएर पठाइएको हो। ऋषि अहिले गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहँदा छवि भने प्रहरी ‘एक्सन’मा परेका छन्।
रमेश लेखक गृहमन्त्री हुनेबित्तिकै जयनारायण आचार्यलाई काठमाडौंको सिडिओ बनाइएको थियो। दाङ, सप्तरी, कास्की, ललितपुर, सुनसरी हुँदै काठमाडौंको सिडिओ बनेका आचार्य नक्कली शैक्षिक प्रमाणपत्र विवादका कारण गृह मन्त्रालय फिर्ता आए। गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका आचार्य ‘जेन-जी’ सरकार आएपछि गृह छाडेका थिए। जुम्लाका आचार्य अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छन्।
पाल्पाको मात्र सिडिओ भएका आनन्द काफ्लेलाई लेखकले गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख बनाएका थिए। गृह प्रशासनको खासै अनुभव नभएका काफ्ले ‘जेन-जी’ आन्दोलनमा समेत उक्त महाशाखा प्रमुख थिए। ओमप्रकाश अर्यालले च्यापेर राखेका ‘कमजोर कमाण्ड’ भएका सहसचिव काफ्ले बालेन सरकार आएपछि पनि उक्त महाशाखामै रजगज गरिरहेका छन्।
रमेश लेखक गृहमन्त्री हुँदा रूद्रादेवी शर्मालाई बर्दियाबाट कास्कीको सिडिओ बनाइएको थियो। रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक जस्ता महत्त्वपूर्ण जिल्लाको सिडिओ बनेर रजगज गरेकी शर्मालाई तत्कालीन गृहमन्त्री लेखकले कास्कीको सिडिओ बनाएका हुन्। ‘जेन-जी’ आन्दोलनमा जिल्ला प्रशासन कार्यालय जोगाउन नसकेकी शर्मा अहिले पनि उक्त जिल्लाको सिडिओ कै भूमिकामा रहेकी छिन्।
लेखकले मोरङको सिडिओ बनाएका इन्द्रदेव यादव अहिले महोत्तरीको सिडिओको भूमिकामा छन्। लेखकले चितवनको सिडिओबाट गृह मन्त्रालय तानेर यादवलाई मोरङको सिडिओ बनाएका थिए। सुनसरी, इलामजस्ता जिल्लाको सिडिओ भइसकेका सिराहाका यादव अहिले महोत्तरीको सिडिओ हुन्।
लेखकले कार्यविधिविपरीत मकवानपुरको सिडिओ बनाएकी स्किम श्रेष्ठ ‘जेन-जी’ आन्दोलनपछि सिन्धुली पुगेकी छिन्। सिडिओको पहिलो पोस्टिङमै नवलपरासी गएकी स्किमलाई लेखकले कार्यविधि मिचेर माईती जिल्ला मकवानपुरको सिडिओ बनाएका थिए। अहिले उनी सिन्धुलीको सिडिओ रहेकी छिन्।
तत्कालीन गृहमन्त्री लेखकले पाल्पाको सिडिओ रहेका तोय नारायण सुवेदीलाई पर्सा जस्तो संवेदनशील जिल्लाको सिडिओ बनाइदिए। ‘जेन-जी’ आन्दोलनमा अस्पताल भर्ना भएका सुवेदी अहिले अर्घाखाँचीको सिडिओ रहेका छन्।
लेखकले कैलालीबाट सुनसरीको सिडिओ बनाइदिएका धर्मेन्द्रकुमार मिश्र हाल बाराको सिडिओ रहेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, रौतहट, कैलाली, सुनसरी जस्ता महत्त्वपूर्ण जिल्लाको सिडिओ रहेका मिश्र अहिले बारामा रहेका छन्। उनी पनि गृहमा रजगज गर्ने सहसचिवमा पर्छन्।
लेखकले काभ्रेपलाञ्चोकको सिडिओ बनाएका उमेशकुमार ढकाल भक्तपुरको सिडिओ रहेका छन्। पर्साको समेत सिडिओ रहेका ढकाल ‘जेन-जी’ आन्दोलनपछि भक्तपुरको सिडिओको भूमिकामा रहेका हुन्।
लेखकले सिडिओको पहिलो पोस्टिङमै रुपन्देही पठाएका टोकराज पाण्डे अहिले गण्डकी प्रदेशको अर्थ सचिव हुन्। गृह छिर्नेबित्तिकै लेखकले गृह मन्त्रालयको योजना र विपद् महाशाखा प्रमुख बनाएका पाण्डे त्यसपछि रूपन्देहीको सिडिओ बन्न सफल भए। आफूलाई तान्त्रिक बताउने पाण्डेले लेखकलाई तन्त्र प्रयोग गरेर रूपन्देहीको सिडिओ बनेको व्यापक चर्चा छ। ‘जेन-जी’ आन्दोलनपछि लमजुङ पुगेका पाण्डे त्यहाँबाट गण्डकी प्रदेशतिर सरूवा भएका हुन्।
गृह मन्त्रालय छिर्नेबित्तिकै भक्तपुरको सिडिओ बनेका नमराज घिमिरे हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक रहेका छन्। यातायात व्यवस्था विभाग, सहकारी विभाग जस्ता महत्त्वपूर्ण विभागमा बसेर रजगज गरेका घिमिरेलाई लेखकले कार्यविधि मिचेर भक्तपुरको सिडिओ बनाएका हुन्। ‘जेन-जी’ आन्दोलनमा कमाण्ड सम्हाल्न नसकेका महेश बस्नेत निकट घिमिरे अहिले संवेदनशील विभागको महानिर्देशकको भूमिकामा रहेका छन्।
लेखक कै पालामा राम्रै जिल्लाको सिडिओ बन्नेमा वसन्त अधिकारी, गणेश अर्यालहरू अहिले पनि सिडिओको भूमिकामा छन्। बालेनले काठमाडौं महानगरपालिकामा एक्सन लिएका अधिकारी हाल मकवानपुरको सिडिओको भूमिकामा रहेका छन्। अर्याल चितवनको सिडिओ हुन्।
लेखकका विश्वासपात्र सहसचिव तीर्थराज भट्टराई भने नक्कली भिजिट भिसा प्रकरणमा भ्रष्टाचारमा डामिएका छन्। यी लगायत लेखकको पालामा गृहमा रजगज गर्ने सहसचिवहरू विभिन्न जिल्लामा सिडिओ रहेका छन्। बालेन सरकारले लेखकको पालामा रजगज गर्ने सहसचिव र सिडिओलाई निगरानीमा राख्नु पर्ने आवाज उठ्न थालेको छ।
ट्याग : #रमेश लेखक गृहमन्त्री हुँदा गृहमा रजगज गर्ने सहसचिवहरू


तपाईको प्रतिक्रिया दिनुहोस