स्वास्थ्यमा बर्षाै देखि शक्तिमै
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एउटै महाशाखामा वर्षौंसम्म कर्मचारी बस्ने प्रवृत्तिले सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। समन्वय महाशाखामा कार्यरत भीमप्रसाद सापकोटा २०७७ साल भदौ १८ गतेदेखि निरन्तर सोही महाशाखामा कार्यरत छन्। पाँच वर्षभन्दा बढी समय एउटै जिम्मेवारीमा बस्दा मन्त्रालयभित्र ‘सेटिङ’ हुने आशंका बढेको छ।
मन्त्रालयको रेकर्डअनुसार सापकोटा मात्र होइन, अन्य कर्मचारीहरू पनि लामो समयसम्म एउटै शाखा तथा महाशाखामा कार्यरत देखिएका छन्। यसले कर्मचारी व्यवस्थापन र सरुवा प्रणालीप्रति प्रश्न खडा गरेको छ।
डाक्टर मदनकुमार उपाध्याय २०७८ वैशाख २३ गतेदेखि गुणस्तर मापन तथा नियमन महाशाखामा करिब तीन वर्षभन्दा बढी समय बसेका थिए। बीचमा वीर अस्पताल सरुवा भए पनि उनी पुनः परिवार कल्याण महाशाखाको निर्देशकका रूपमा फर्किएका छन्।
त्यस्तै, डाक्टर चुमनलाल दास २०८० जेठ १७ गतेदेखि एक वर्ष नीति, योजना तथा समन्वय महाशाखा प्रमुखका रूपमा कार्यरत रहे। बीचमा गजेन्द्रनारायण सिंह अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनेका उनी हाल पुनः मन्त्रालयमै फर्किएका छन्।
डाक्टर कृष्णप्रसाद पौडेल २०७८ फागुन ३ गतेदेखि नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखका रूपमा करिब चार वर्ष कार्यरत रहेपछि हालै स्वास्थ्य बिमा बोर्डमा निर्देशकका रूपमा काजमा गएका छन्।
डाक्टर समीरकुमार अधिकारी २०७७ भदौ ११ गतेदेखि मन्त्रालयमै कार्यरत छन् भने उषा तण्डुकार २०७८ चैत १० गतेदेखि गुणस्तर मापन तथा नियमन महाशाखामा निरन्तर कार्यरत छन्। शकुन्तला प्रजापति पनि करिब चार वर्ष मन्त्रालयमा बसेर एक वर्ष बाहिर काम गरी पुनः मन्त्रालय फर्किएकी छन्।
लामो बसाइँले बढाउँछ जोखिम
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार एउटै शाखा वा महाशाखामा लामो समयसम्म कर्मचारी राख्नुले अनियमितता र प्रभावका सम्भावना बढाउँछ। विशेषगरी व्यवस्थापन, गुणस्तर मापन तथा नीति योजना जस्ता संवेदनशील महाशाखामा यस्तो प्रवृत्ति झन् जोखिमपूर्ण मानिन्छ।
पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीका अनुसार सामान्यतया दुई वर्षभन्दा कम अवधि पुगेका कर्मचारीलाई सरुवा गर्नु उपयुक्त हुँदैन।
“तर दुई वर्षभन्दा बढी समय एउटै स्थानमा राख्नु पनि घातक हुन सक्छ,” उनले बताए।
अनुगमनका नाममा चलखेल?
विज्ञहरूका अनुसार अस्पताल अनुगमन तथा नियमनसँग सम्बन्धित महाशाखामा ‘चलखेल’ हुने सम्भावना बढी हुन्छ। लामो समय एउटै स्थानमा बस्दा सम्बन्ध, प्रभाव र स्वार्थको जालो बलियो बन्दै जाने जोखिम रहने उनीहरूको भनाइ छ।
मन्त्रीको अग्निपरीक्षा
यस्तो अवस्थामा स्वास्थ्य मन्त्री निशा मेहताका लागि सुशासन कायम गर्नु चुनौतीपूर्ण देखिएको छ।
मन्त्री मेहताले लामो समयदेखि एउटै स्थानमा बसेका कर्मचारीलाई हटाएर प्रणाली सुधारतर्फ जाने कि पुरानै कर्मचारीसँग सहकार्य गर्दै अघि बढ्ने भन्ने विषय अबको केही दिनमै स्पष्ट हुने देखिन्छ।
क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस