राजनीतिक नियुक्ति खाएका कांग्रेसी ‘ज्वाइँ-साब’हरू नैतिकताका आधारमा पदबाट राजीनामा दिने हैन त!
समाचार टिप्पणी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीलाई स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्न उनले आग्रह गरेका छन्। बिहीबार संसद्मा सम्बोधन गर्दै लामिछानेले उक्त आग्रह गरेका हुन्।
रास्वपाका सभापति लामिछानेले भने, ‘हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वेछिकरुपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिन हुन म अपील गर्न चाहन्छु। सरकार नयाँ, नीति, कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ। हिजो नियुक्ति लिएका सार्वजनिक निकायका पदाधिकारीहरुले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु।’,
यसरी राजनीतिक नियुक्ति खानेमा नेपाली कांग्रेसी ‘ज्वाइँ-साब’हरू अग्रपङ्क्तिमा रहेका छन्। गगनकुमार थापा नेतृत्वको एउटै कार्यसमिति रहेका नेतृहरूका ज्वाइँ राजनीतिक नियुक्ति खानेमा पर्छन्। नेपाली कांग्रेसको केन्द्रीय उपसभापति पुष्पा भुसाल गौतम, सहमहामन्त्री डिला संग्रौला पन्त र केन्द्रीय सदस्य नवोदिता चौधरीका श्रीमानले राजनीतिक नियुक्ति खाएका हुन्। रास्वपा सभापति लामिछानेको आग्रहअनुसार उनीहरूले नैतिकता देखाएर राजीनामा दिनुपर्ने छ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल(गौतम)का श्रीमान डा. चोपलाल भुसाल नेपाल मेडिकल काउन्सिलका अध्यक्ष छन्। त्यस्तै सहमहामन्त्री रहेकी डा. डिला संग्रौला पन्तका श्रीमान सूर्य संग्रौला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बन्न सफल भएका हुन्। गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय सदस्य नवोदिता चौधरीका श्रीमान पशुपति चौधरी रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष बन्न सफल भएका छन्।
रास्वपा सभापति लामिछानेको आग्रहको सम्मान र स्वीकार गर्दै कांग्रेसी ‘ज्वाइँ-साब’हरू नैतिकताका आधारमा पदबाट राजीनामा दिने हैन त! कि निर्लज्ज भएर पदमै टाँसिरहने हो। नैतिकताका आधारमा पदबाट राजीनामा दिएर लाज बचाउने हैन त राजनीतिक नियुक्ति खाएका कांग्रेसी ‘ज्वाइँ साब’हरू? कि श्रीमती ‘ब्याच’ खाएर नैतिकता गुमाएर पदमै बसिरहने हो?
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस