सामान्य प्रशासन मन्त्रालयमा दलीय ट्रेड युनियनका नेताको हालिमुहाली, एमाले निकट महासचिवको एकछत्र राज


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दलीय ट्रेड युनियनका नेताहरुको हालिमुहाली रहेको छ। बालेन सरकारले निजामती प्रशासनलाई दलीय ट्रेड युनियनमुक्त बनाउने भनेपनि समान्य प्रशासन मन्त्रालयमा दलीय ट्रेड युनियनका नेताहरूको हालिमुहाली देखिएको हो। सामान्य प्रशासन मन्त्रालयमा सरूवा, बढुवा, वैदेशिक भ्रमण, छात्रवृत्तिलगायतका विभिन्न विषयमा दलीय ट्रेड युनियनका नेताहरूको चलखेल हुँदै आएको छ। कतिपय काम आर्थिक चलखेलको आधारमा हुने गरेको आरोप लाग्दै आएको हो। दलीय ट्रेड युनियनका नेताहरूले पार्टीका नेताहरूलाई सवारी साधन र इन्धनको कुपन दिएर राज्यकोष को दुरूपयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले यस्ता विकृति, विसङ्गति रोक्न कदम चाल्ने भएको हो।
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका महासचिव रामचन्द्र अधिकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एकछत्र राज गर्दै आएका छन्। उक्त मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा लामो समयदेखि खेलफडको गर्दै आएका नायब सुब्बा अधिकारीले अनधिकृत सरकारी गाडी प्रयोग गर्दै आएका हुन्।
अधिकारीले एक दशक बढीदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एकछत्र राज गरिरहेका छन्। कोठाको अभाव भएको उक्त मन्त्रालयमा अधिकारीलाई एउटा छुट्टै कोठा उपलब्ध गराइएको छ। एमाले निकट दलीय ट्रेड युनियनका नेता उनले छुट्टै कोठा लिएर संगठनका गतिविधि सञ्चालन गर्दै आएका छन्। कार्यालय समयमा प्रायजसो नभेटिने अधिकारी जहिले पनि सडको पारिपट्टि रहेको संगठनको कार्यालयमा हुने गर्छन्। कर्मचारी महाशाखा प्रमुख पार्वती शर्मा र सचिवको प्रत्यक्ष संरक्षणमा रहेका उनी बालेन सरकारलाई चुनौती दिन थालेका छन्। खासै कार्यालयमा काम नगरेका ईच्छाविपरीत मन्त्रालयका शाखामा कसैको पनि पदस्थापना हुन नसक्ने गरेको आरोप लाग्ने गरेको छ। यस्ता कर्मचारीलाई फ्रन्टलाइनमा सेवा प्रवाह गर्ने कार्यालयमा पठाएर जनतालाई सेवा प्रवाह कसरी गर्नुपर्ने रहेछ भनेर बालेन सरकारले प्रत्यक्ष अनुभूति दिलाउन आवश्यक देखिन्छ।

एमाले निकट कर्मचारीले वर्षौंदेखि ‘गूड’ बनाएर बसेको सामान्य प्रशासन मन्त्रालयमा नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव वामदेव ओली पनि लामो समयदेखि उक्त मन्त्रालयमा एकछत्र राज गर्ने कर्मचारीमा पर्छन्। अधिकृतलाई कार्यकक्ष नभएको मन्त्रालयमा नायब सुब्बा पदका ओली एउटा छुट्टै कार्यकक्ष (कर्मचारी कल्याण शाखा अगाडिको कोठा) लिएर संगठनका गतिविधि सञ्चालन गर्दै आएका छन्।  कार्यालय समयमा खासै नभेटिने उनीमाथि जहिले पनि संगठनको काममा सक्रिय हुँदै आएको आरोप लाग्ने गरेको छ। उनलाई पनि कर्मचारी प्रशासन महाशाखा प्रमुख र सचिवको प्रत्यक्ष संरक्षणमा रहेको कर्मचारीहरू बताउँछन्।
नेपाल निजामती कर्मचारी संगठन, सचिवालय सदस्य उमेश पराजुली पनि सामान्य प्रशासन मन्त्रालयमा बसेर राजनीति गतिविधि गर्नेमा पर्छन्। आन्तरिक शाखामा नासु पदमा कार्यरत यीनले अलिअलि काम गरेपनि संगठन कै राजनीतिक गतिविधिमा बढी सक्रिय रहने गरेको आरोप लाग्दै आएको हो।
नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनका विभागीय अध्यक्ष प्रकाश धिताल सामान्य प्रशासन मन्त्रालयमा काम कम राजनीतिक बढी गर्ने कर्मचारीमा पर्छन्। कार्यालय सहयोगी धितालले आफूभन्दा माथिका कर्मचारीको कुर्सी ओगटेर बस्ने गरेका छन्। कार्यालय सहयोगी पदका यिनीलाई कसैले पनि काम लगाउन नसक्ने गुनासो आउने गरेको छ। सामाजिक समावेशीकरण शाखामा शाखा तोकिए पनि यिनी कार्यालय समयमा प्रायजसो आन्तरिक शाखामा वा मन्त्रालय परिसर वाहिर पार्किङमा हुने गर्छन्। उनले शाखा प्रमुखलाई समेत अटेरी गर्दै आएका छन्।
माओवादी (हालको नेकपा) निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका नेता नासु हरि रावल र विष्णु चौलागाईं समेत सामान्य प्रशासन मन्त्रालयमै रहेका छन्। रावललाई शाखा तोकिएको छैन। संगठनका पूर्वअध्यक्ष यिनी पनि कामचोर कर्मचारीमा गनिन्छन्। नासु बिष्णुप्रसाद चौलागाईं स्थानीय तह समन्वय शाखामा कार्यरत छन्।  यातायात कार्यालयमा कार्यरत रहँदा घुस लिएको आरोपमा अख्तियारबाट मुद्दा दायर भई मुद्दा समेत हारेका तर सर्वोच्च अदालतबाट ‘स्टिङ अपरेशन’का सबै आरोपीहरूलाई मुद्दाबाट सफाई दिने अभियानमा यीनले पनि सफाई पाएका थिए। उनलाई प पनि काम लगाउन सजिलो नरहेको सामान्यका कर्मचारीहरू बताउँछन्।
कर्मचारीमा दलीय ट्रेड युनियन खारेज गर्ने घोषणा गरेको बालेन सरकारले सामान्य प्रशासन मन्त्रालयले कब्जा गरेका कर्मचारी नेताहरूलाई सरूवा गरेर ‘डाँडा’ कटाउन आवश्यक छ। यिनीहरूलाई सरूवा गरेर प्रशासन सुधारको सुरूवात गर्न जरूरी छ। बालेन सरकारका लागि सुधारको प्रस्थान बिन्दु यहीँ हुनसक्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ