तीन महिनादेखि गृह मन्त्रालयमा रूमल्लिरहेका दुई सहसचिव


काठमाडौं। गृह मन्त्रालयमा विगत तीन महिनाभन्दा लामो समयदेखि दुई सहसचिव रूमल्लिरहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सरूवा भएर आएका सहसचिव निश्चलराज पाण्डे र राष्ट्रपति कार्यालयबाट आएका निराजन घिमिरे तीन महिनाभन्दा लामो समयदेखि गृह मन्त्रालयमा रूमल्लिरहेका हुन्। उनीहरूभन्दा पछि गृह मन्त्रालय छिरेका धेरै सहसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर गएपनि पाण्डे र घिमिरे गृह मन्त्रालयमै डेरा जमाएर बसिरहेका छन्।

गृह मन्त्रालयले आइतबार मात्र दरबन्दी अनुसार बैतडी र जाजरकोटमा सहसचिव सिडिओ खटाएको छ। गृहले बैतडीको सिडिओमा सहसचिव डिजन भट्टराई र जाजरकोटको सिडिओमा सहसचिव खडानन्द अधिकारीलाई खटाएको हो। भट्टराई र अधिकारी पाण्डे र घिमिरेभन्दा धेरै पछाडि गृह भित्रिएका सहसचिव हुन्।

गृह मन्त्रालयले उपसचिव सिडिओलाई झिकेर बैतडी र जाजरकोटमा हालै आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका भट्टराई र अधिकारीलाई सिडिओ खटाएको हो। एक महिनादेखि गृहको जगेडामा सहसचिवद्वयलाई सिडिओ बनाएर पठाएको छ। तर, गृह मन्त्रालयमा तीन महिनाभन्दा लामो समयदेखि हल्लिरहेका सहसचिवहरू पाण्डे र घिमिरेलाई भने मन्त्रालय कै जगेडामा छाडिएको हो।

गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेको बैतडीको सिडिओ रहेका उपसचिव कृष्ण थापालाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारी र जाजरकोटको सिडिओ रहेका उपसचिव राजुप्रसाद पौडेललाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीमा सरूवा गरेको छ। अझै सहसचिवको दरबन्दी रहेका जुम्ला, अछाम र डोटीमा उपसचिव सिडिओ रहेका छन्। गृह मन्त्रालयमा सहसचिवहरू निश्चलराज पाण्डे र निराजन घिमिरे जगेडामा हुँदा पनि ती जिल्लामा उपसचिवलाई नै सिडिओ चलाउन दिइएको छ। पाण्डे र घिमिरेलाई समेत तत्काल सहसचिवको दरबन्दी भएका ती जिल्लामा सिडिओ खटाउन आवश्यक देखिन्छ।

गृह मन्त्रालयले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुमन घिमिरेलाई गृह मन्त्रालय तानेर उक्त विभागको महानिर्देशकमा प्रकाश पौडेललाई पठाइएको हो। सुमनलाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा व्यवस्थापन गरिएको छ। विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी भने सुरेश पन्थीलाई दिइएको हो। निराजन र निश्चललाई तत्काल सिडिओमा पठाउनुको विकल्प देखिंदैन।

क्याटेगोरी : समाचार
ट्याग : #निराजन घिमिरे, #निश्चलराज पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ