कोशीको पूर्वमुख्यमन्त्री राईका स्वकीय सचिव बिआईसीसीको सवारी लिएर ‘फरार’, प्रहरी लगाएर खोजिँदे
काठमाडौं। राजेनन्द्रकुमार राई कोशी प्रदेशको मुख्यमन्त्री हुँदा स्वकीय सचिवालयमा बसेर काम गरेर भद्रकाली पराजुली अहिले सरकारी सवारी साधन लिएर ‘फरार’ भएका छन्। उनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र(बिआईसीसी)को मोटरसाइकल लिएर फरार भएपछि सवारी फिर्ता ल्याउन प्रहरीको सहयोग मागेको पाइएको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले पराजुलीसहित ३ जनाले सवारी साधन नबुझाएको भन्दै खोजिदिन प्रहरीलाई अनुरोध गरेको हो।
कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजेन्द्रकुमार राई हटेपछि पराजुली मेटमणि चौधरी सहरी विकासमन्त्री हुँदा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करारमा नायब सुब्बासरहको जागिर खान थाले। पौष मसान्तमै पराजुलीको करारको जागिर सकिएपनि उनले अहिलेसम्म सवारी साधन फिर्ता नगरेको पाइएको छ। पटकपटक सूचना जारी गर्दा र फोन गर्दा पनि पराजुलीले सवारी साधन फिर्ता गर्न अटेर गरेपछि समितिले प्रहरी गुहारेको हो।

त्यस्तै एमाले नेता एवं खोटाङका पूर्वसांसद विशाल भट्टराईको ‘ड्राइभर’ हुँदै केन्द्रमा करारको जागिर खाएका तारानाथ श्रेष्ठले पनि सरकारी सवारी लिएर हिँडेका छन्। उनले प्रयोग गर्ने ६२६२ नम्बरको मोटरसाइकल पनि समितिले प्रहरी लगाएर फिर्ता ल्याउने प्रयास गरेको छ। शिला खपाङ्गीले भने प्रहरी लगाएपछि सवारी साधन फिर्ता गरेको समितिका कर्मचारीहरूले जानकारी दिए।
प्रहरीलाई खबर गर्ने थाहा पाएपछि चिरञ्जीवी बुढाथोकी, तनवीर खाँ र सैयद मोहम्मद इमरानले भने मोटरसाइकल फिर्ता गरेको समितिका कर्मचारीहरू बताउँछन्। मुख्यमन्त्रीका पिए भएर काम गरिसकेका पराजुलीले भने गति नै छाडेर सरकारी सवारी साधन कब्जा गरेका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस