उपमहानगरपालिकामा खटाइएका सहसचिव सामान्यमै घुमिरहेपछि हाजिर गर्न दिइएन
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले स्थानीय तहमा निमित्त हटाउने अभियान सुरू गरेकी छिन्। रिक्त भएका उपमहानगरपालिकामा मन्त्री रावलले सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएकी छिन्। तर, खटाएको ठाउँमा ती सहसचिव नगएपछि हाजिरीमा रातो लगाउन थालिएको छ।
रावल सामान्य प्रशासनमन्त्रीको भूमिकामा आउनुभन्दा अघि नै वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खटाइएका रेशम कँडेल अहिलेसम्म गएका छैनन्। उनी अटेर गरेर सामान्यमै बसिरहेपछि हाजिरीमा रातो लगाइएको हो। उपसचिव भएपछि सधै सामान्य प्रशासन मन्त्रालयमा बसेर तरमारेका कँडेल सहसचिव भएपछि पनि सामान्यमै हल्लिरहेका छन्। उनका लागि दुर्गम भनेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ‘पोस्टिङ’ हो। सामान्यमा बसेर लामो समयदेखि रजगज गरिरहेका कँडेल खटाएको ठाउँमा नगएपछि रावलको फन्दामा परेका हुन्। उब उनी खटाएको ठाउँमा नगए कारबाहीमा पर्ने भएका छन्।
रावलले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ४ जना सहसचिवलाई उपमहानगरपालिकामा खटाएकी थिइन्। रावल सम्मिलित मन्त्रिपरिषद्को बैठकले सहसचिवहरू ज्ञानहरि घिमिरे, टेकनारायण पौडेल, चन्द्रप्रसाद भुसाल र दिपक ज्ञवालीलाई उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। तर, १० दिन पुग्न लाग्दा पनि उनीहरू सामान्य प्रशासन मन्त्रालयमै रूमल्लिरहेका छन्। सरकारले सहसचिव टेकनारायण पौडेललाई तुलसीपुर, चन्द्रप्रसाद भुसाललाई घोराही, दिपक ज्ञवालीलाई बुटवल र ज्ञानहरि घिमिरेलाई जनकपुरधाम उपमहानगरपालिकामा सरूवा गरेको थियो। उनीहरू अझैसम्म खटाएको ठाउँमा गएका छैनन्। बुधबार भने उनीहरूले समान्य प्रशासन मन्त्रालयमा हाजिर गर्न पाएनन्। मन्त्री रावलले उनीहरूलाई खटाएको ठाउँमा जसरी पनि पठाउने छनक दिएकी छिन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस