यी हुन् पुराना सत्ताका तरमारा महानिर्देशकहरू
काठमाडौं। राज्यमा लामो समयदेखि रजगज गरेका पुराना सत्ताका मसियाहरू ढलेपनि अवशेषहरू बाँकी नै रहेको पाइन्छ। केपी शर्मा ओली र शेरबहादुर देउवाको सत्ता ‘जेनजी’ आदोलनले ढालिसकेको छ। झन्डै दुई-तिहाइ बहुमत पाएर बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री भइसकेका छन्। यस्तो अवस्थामा पनि विभिन्न विभागको महानिर्देशकमा पुराना सत्ताका तरमाराहरू कै हालिमुहाली रहेको देखिन्छ।
पुराना सत्ता निकट भएर महत्त्वपूर्ण विभागका हालिमुहाली गरिरहेका सहसचिवहरू नै बालेन सरकार आइसकेपनि जुर्मुराइरहेका छन्। पुराना सत्ताका मान्छेहरू नै नयाँ सत्तामा पनि हाबी हुन थालेका छन्। यसले सत्ता परिवर्तन भएको पनि पुराना खेलाडी परिवर्तन नभएको अनुभूति हुन्छ।
नेकपा एमाले निकट सहसचिव मदन दाहाल अहिले पनि आन्तरिक राजस्व विभागका महानिर्देशकको भूमिकामा रहेका छन्। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८१ माघमै आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका दाहाल बालेन सरकारको पालामा पनि उक्त विभागको महानिर्देशकको भूमिकामा रहेका छन्। पौडेलका विश्वासपात्र दाहालको जादुमयी कदमले अहिले पनि काम गरिरहेको छ। राजस्व अनुसन्धान विभागको समेत महानिर्देशक भइसकेका उनलाई पौडेलले आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका थिए। केही समय बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाललाई एमाले सत्ताका तरमारा सहसचिव हुन्।
भन्सार विभागको महानिर्देशक श्यामप्रसाद भण्डारी पनि एमाले निकट सहसचिव हुन्। उनलाई गत साउनमा अर्थमन्त्री पौडेलले नै भन्सार विभागको महानिर्देशक बनाएका थिए। सरकार फेरिए पनि भण्डारीको कुर्सी फेरिएको छैन।
तीर्थराज चिलवाललाई पनि साउनमै प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा पठाएका हुन्। कांग्रेस-एमाले दुबै पार्टीसँग उत्तिकै सम्बन्ध राखेका चिलवालको पालामा विभाग नै खारेज हुने खतरा बढेको छ। तर उनी विभागको महानिर्देशकमै रमाइरहेका छन्।
नेकपा एमालेका ‘क्याडर’ राजीव पोखरेल यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका छन्। ओलीका विश्वासपात्र देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका बेला २०८१ असोजमा पोखरेल यातायात व्यवस्था विभागको महानिर्देशक भएका थिए। डेढ वर्ष यातायात व्यवस्था विभागमा बिताएका एमाले सत्ताका तरमारा सहसचिव पोखरेल अहिले पनि विभाग कै हर्ताकर्ता हुन्। डा. विजय जैसीलाई पनि देवेन्द्र दाहालले नै सडक विभागका महानिर्देशक बनाएका हुन्। गत जेठमा दाहालले उनलाई सडक विभागको महानिर्देशक बनाएर पठाएका थिए। एमाले सत्तामा निकै हालिमुहाली गरेका जैसी अझै पनि सडक विभागको महानिर्देशकको भूमिकामा छन्।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले उक्त विभागमा एकछत्र राज गरेको लामो समय भइसकेको छ। विवादित डिजी ढकालको विषयमा पनि पटकपटक प्रश्न उठ्ने गरेको छ। औषधिको मूल्यवृद्धिमा अनियमितता गरेको भनेर महानिर्देशक ढकालको विषयमा सदनमै कुरा उठेको छ। चूडामणि शर्माका नातेदार ढकाल कांग्रेसी कर्मचारी हुन्। कांग्रेस कै सत्ता र शक्तिको आडमा उनले औषधि व्यवस्था विभागमा एकछत्र राज गरेका हुन्। कांग्रेसी सत्ताका तरमारा महानिर्देशक ढकाल बालेन सरकार आएपनि फुक्काफाल छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशक मतिना जोशी वैद्यको पनि उस्तै रजगज रहेको छ। वैद्यले विभागको कमाण्ड सम्हालेको लामो समय भइसक्यो। तर, उनलाई कसैले विस्थापित गर्न सकेको छैन।
मनमाया पंगेनी भट्टराईलाई २०८१ भदौतिरै पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा विभागको महानिर्देशक बनाएर ल्याएका थिए। गुरूङको कार्यकर्ता कै भूमिकामा काम गरेको भनेर आरोप खेप्दै आएकी पंगेनी अहिले पनि उक्त विभागको कमाण्ड सम्हालिरहेकी छिन्। गुरूङले पंगेनीलाई आफूले महानिर्देशक बनाएको भनेर खुलेआम बताउने गर्थे। गुरूङको राज ढलेपनि पंगेनी हुलाक सेवा विभाग कै महानिर्देशकको भूमिकामा छिन्।
तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शिवप्रसाद रेग्मीलाई भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक बनाएका थिए। मालपोतको सरूवा रेग्मी निकै विवादित बने। प्रदेशतिर गएर जागिर नै नखाएका विवादित सहसचिव रेग्मीले अहिलेसम्म विभागको कमाण्ड छाडेका छैनन्। २०८१ कार्तिकमै भूमि व्यवस्थापन विभागको महानिर्देशक बनेका बलराम अधिकारीका प्रियपात्र रेग्मीले उक्त विभागमै रजगज गरिरहेका छन्।
अध्यागमन विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई गत असारमा तत्कालीन गृहमन्त्री रमेश लेखकले महानिर्देशक बनाएको थिए। लेखकको पालामा गृहमा रजगज गर्ने सहसचिवमा तिवारी पर्छन्। उनी लेखकको विश्वास जितेर अध्यागमन विभागको महानिर्देशक बनेका हुन्। लेखक प्रहरी हिरासतमा हुँदा पनि तिवारी अध्यागमनमै जमिरहेका छन्। लेखकको सत्ता ढलेपनि कांग्रेसी कर्मचारी तिवारीलाई केही फरक परेको छैन।
जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशक मित्र बराल दिपक खड्काका खास मान्छे हुन्। हाल सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रहरी हिरासतमा पुगेका खड्काले उनलाई विभागको महानिर्देशक बनाएर पठाएका थिए। तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले महानिर्देशक बनाएका उनै बराल अहिले पनि सिँचाइ विभागको महानिर्देशकको भूमिकामा छन्।
तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाका विश्वास पात्र तिर्थराज अर्याल राहादानी विभागका महानिर्देशकको भूमिकामा छन्। देउवा दम्पतीलाई पासपोर्टको ‘हस्पिटल डेलिभरी’ गरेपछि अर्याल विवादमा आएका थिए। बालेन सरकारले विदेशमा रहेका देउवा दम्पतीलाई इन्टरपोल मार्फत झिकाउन खोज्दा अर्याल विभाग कै महानिर्देशकको भूमिकामा छन्।
सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र शाह पनि पुरानै सत्ताका खेलाडी हुन्। यिनीहरू लगायत ठूलो संख्यामा पुराना सत्ताका तरमारा महानिर्देशकहरूले विभाग चलाइरहेका छन्। बालेन सरकारले पुराना सत्ताका तरमारा महानिर्देशकहरूको रजगज अन्त्य गर्नुपर्ने देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #पुराना सत्ताका तरमारा महानिर्देशकहरू


तपाईको प्रतिक्रिया दिनुहोस