विवादित महानिर्देशक ढकाल मन्त्रालय तानिए, नयाँ नियुक्ति अझै ‘होल्ड’मा


काठमाडौं । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बिहीबार (आज) मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशक ढकाललाई मन्त्रालयमा हाजिर हुने गरी तानेकी हुन्।

मन्त्रालय स्रोतका अनुसार विभागको नयाँ महानिर्देशक कसलाई बनाउने भन्ने विषयमा अझै निर्णय भएको छैन। योग्य र विवादरहित व्यक्ति खोज्ने प्रयास भइरहे पनि उपयुक्त उम्मेदवार नपाइएको भन्दै नियुक्ति प्रक्रिया ‘होल्ड’मा राखिएको जनाइएको छ। हाल ११ तहका कर्मचारीमध्ये भरत भट्टराई सम्भावित विकल्पका रूपमा रहे पनि उनको पृष्ठभूमि पनि सन्तोषजनक नभएको भन्दै मन्त्रालय निर्णयमा पुग्न सकेको छैन।

ढकालमाथि औषधि कम्पनीहरूको नवीकरण प्रक्रियामा अनियमितता गरेको आरोप लाग्दै आएको थियो। स्रोतका अनुसार प्रत्येक कम्पनीबाट नवीकरणका क्रममा पाँच लाख रुपैयाँसम्म लिने गरेको आरोप उनीमाथि लागेको छ। विशेषगरी भारतीय औषधि कम्पनीहरूसँग मिलेमतोमा आर्थिक अपचलन गरेको तथा नेपाली कम्पनीहरूलाई दबाब दिने गरेको आरोपसमेत सार्वजनिक हुँदै आएको छ।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीमाथि छानबिन गरिरहेको छ। आयोगले छानबिनका लागि पठाएको पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै रोकिएको विषयले पनि प्रशासनिक वृत्तमा चर्चा पाएको थियो। स्वास्थ्य तथा जनसंख्या सचिव डा. विकास देवकोटाले उक्त पत्र करिब एक महिनादेखि ‘होल्ड’ गरेर राखेको विषयले समेत विवाद थप चुलिएको थियो।
लगातार विवादमा मुछिँदै गएपछि मन्त्री मेहताले ढकाललाई विभागबाट फिर्ता बोलाउने निर्णय लिएको मन्त्रालय स्रोतले जनाएको छ। ढकालको विषयमा संसद्मा समेत कुरा उठेको छ। अख्तियारले उनीमाथि विस्तृत अनुसन्धान गरिरहेको छ। तर, ढकालमाथि छानबिन गर्न स्वास्थ्य मन्त्रालयले असहयोग गर्दै आएको स्रोतको दाबी छ। 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ