नगरपालिकामा सरूवा भएर सेटिङमा मन्त्रीको सचिवालयमा पुगेका तरमारा उपसचिवहरू


काठमाडौं। २०८२ भदौं १२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १२२ जना उपसचिवलाई नगरपालिकामा खटायो। तिनीहरूमध्ये अधिकांश एउटै कार्यालयमा लामो समयदेखि रजगज गरेर बसेका उपसचिव थिए। लामो समयदेखि एउटै कार्यालयमा तरमारेर बसेका उपसचिवहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर नगरपालिकामा पठाइएको थियो। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल र प्रशासन महाशाखा प्रमुख पार्वती शर्माको सेटिङमा ती तरमारा उपसचिवहरूको संघमै व्यवस्थापन गरेको पाइन्छ।

पार्वती शर्मा कै सेटिङमा आधा दर्जन उपसचिव त ‘जेन-जी’ सरकार कै मन्त्रीको सचिवालयमा निजी सचिव बनाएर व्यवस्थापन गरेको खुल्न आएको छ। मन्त्रीको सचिवालयमा त्यसरी व्यवस्थापन गरिएका अधिकांश कर्मचारीले विगतमा नेकपा एमालेको सरकारबाट लाभ लिँदै आएको देखिन्छ।

सचिव पौडेल र सहसचिव शर्मा नेकपा एमाले निकट कर्मचारी हुन्। अहिले पनि उनीहरूले सरूवामा एमाले निकट कर्मचारीलाई ‘फेभर’ गरिरहेको आरोप छ। पछिल्ला सरूवा हेर्दा पनि त्यो आरोपमा दम देखिन्छ। अहिले स्थानीय तहमा पठाइएका कर्मचारी एमाले इतरका बढी देखिन्छन्। विगतमा पनि नगरपालिका खटाइएका एमाले निकट कर्मचारीलाई उनीहरूले सेटिङमै मन्त्रीको सचिवालयमा व्यवस्थापन गरेको पाइन्छ।

उद्योग विभागमा कार्यरत उपसचिव सरोज कुमार पोख्रेलको पुचौंडी नगरपालिका बैतडीमा सरूवा भएको थियो। तर, उनलाई पार्वतीको सेटिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको सचिवालयमा राखिएको खुल्न आएको छ। उद्योग विभागको भन्सार मानिने शाखामा लामो समयदेखि रजगज गरेका पोख्रेललाई पुचौंडी नगरपालिका बैतडीमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको थियो। उनी खटाएको ठाउँमा गएनन्। सामान्य र उद्योगमा सेटिङ मिलाएर उद्योगमन्त्री अनिल सिन्हाको निजी सचिव भए। अहिले पनि पोख्रेल उद्योगमन्त्री गौरीकुमारी यादवको निजी सचिव बन्न दौडधुप गरिरहेको चर्चा सुनिन्छ। हिजो एमालेबाट कुस्त लाभ लिएका पोख्रेल अहिलेको सरकारमा पनि हर्ताकर्ता बन्न खोजिरहेका छन्।

उद्योग विभागबाटै अछामको साँफेबगर नगरपालिकामा सरूवा भएका अर्जुन सेन ओली पनि सेटिङमा मन्त्रीको सचिवालयमा पुगेको पाइन्छ। लामो समयदेखि उद्योगमा बसेका उपसचिव ओली साँफेबगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नगइ संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रीको सचिवालयमा पुगेको खुल्न आएको छ। ओली स्थानीय तहमा नगइ तत्कालीन संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रीको अनिलकुमार सिन्हाको निजी सचिव भएर बसेका हुन्। अहिले पनि उनी त्यतै रजगज गरिरहेका छन्। अहिलेको सरकारले पनि ओलीलाई स्थानीय तहमा खटाउन सकेको छैन।

एमालेका दामोदर भण्डारी उद्योगमन्त्री हुँदा उद्योगको प्रशासनमा बसेर रजगज गरेकी रमिला भण्डारीको गुल्मीको मुसीकोट नगरपालिकामा सरूवा भएको थियो। भण्डारी मुसीकोट नगरपालिका नगइ पार्वतीसँग सेटिङ मिलाएर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री अनिल कुमार सिन्हाको सचिवालयमा पुगिन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नगरपालिका नगइ भूमिमन्त्रीको निजी सचिवालयमा पुगेकी भण्डारी अहिले पनि भूमितिरै रमाइरहेकी छिन्। एमालेबाट सदाबहार लाभ लिँदै आएकी उपसचिव भण्डारीलाई अहिलेको सरकारले पनि स्थानीय तहमा खटाउन सकेको देखिँदैन। अहिलेको सरकारले यस्ता तरमारा उपसचिवहरूलाई स्थानीय तहमा पठाउने हिम्मत गर्नुपर्छ।

लेखा उपसचिव हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय बसेकी पार्वतीले उद्योगबाट स्थानीय तहमा सरूवा भएका एमाले पृष्ठभूमिका उपसचिवलाई छानीछानी मन्त्रीको सचिवालयमा व्यवस्थापन गरेको पाइन्छ। सरोज कुमार पोख्रेलको त उनले सरूवा नै बदर गरेर उद्योगमै फिर्ता पठाएको खुल्न आएको हो।

रक्षा मन्त्रालयबाट सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकामा सरूवा भएकी उपसचिव सुनिता घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निजी सचिवमा व्यवस्थापन गरिएको पाइन्छ। रामेछाप हुँदै जनकपुर झरेकी घिमिरे रक्षाबाट सोलु दुधकुण्ड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नगइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सचिवालयमा पुगेकी थिइन्। तत्कालीन भौतिकमन्त्री कुलमान घिसिङ रामेछाप जिल्ला कै हुनुको फाइदा उठाउँदै घिमिरे भौतिक मन्त्रीको सचिवालय पुगेकी थिइन्। अहिले पनि घिमिरे भौतिकतिरै रहेकी छिन्।

मुद्रण विभागबाट धनुषाको विदेह नगरपालिकामा सरूवा भएका उपसचिव दुर्गाप्रसाद भुर्तेलको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको सचिवालयमा पुगेको पाइन्छ। उनी विदेह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हाजिर नभइ ऊर्जामन्त्रीको सचिवालयमा पुगेको देखिन्छ। कुलमानको पालामा ऊर्जा मन्त्रीको सचिवालयमा पुगेका भर्तेल अनिलकुमार सिन्हाको हुँदै विराजभक्त श्रेष्ठको पनि निजी सचिव बनेका छन्। भुर्तेललाई पनि सरकारले स्थानीय तहमा पठाउन सकेको छैन।

 

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन सेन ओली, #दुर्गा प्रसाद भुर्तेल, #रमिला भण्डारी, #सरोज कुमार पोख्रेल, #सुनिता घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ