विवादित निर्णयमा मन्त्री फसाउने कर्मचारीमाथि कारबाही सुरू
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ।
स्वास्थ्य बीमा बोर्डको बोर्ड सदस्य श्रम तथा रोजगारमन्त्री कि श्रीमती जुनु श्रेष्ठलाई नियुक्ति गर्न स्वास्थ्य मन्त्रीलाई गलत सूचना प्रवाह गरेको र विवाद आइसकेपछि ढाकछोप गर्न स्वास्थ्य बीमा बोर्डको उपस्थिति नै परिवर्तन गराउन भूमिका खेलेको आरोपमा कारबाही सुरू भएको हाे । सापकोटा बाेर्ड सदस्य हुन् ।
स्वास्थ्य बीमा बोर्डको सदस्य नियुक्ति, बैठकमा उपस्थितिलगायत विषयमा सञ्चारमाध्यममा आएका विवरणका आधारमा मन्त्रालयले तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको हो। माइन्युट, निर्णय प्रक्रिया र कागजात मिलाउने काममा कर्मचारीकै संलग्नता रहेको विषय सार्वजनिक भएपछि मन्त्रालय सक्रिय बनेको हो।

यसबीच, स्वास्थ्य मन्त्रीलाई उक्साएर गलत निर्णय गराउन भूमिका खेलेका कर्मचारीमाथि छानबिन गर्नुपर्ने विषय प्रधानमन्त्री कार्यालयसम्म पुगेपछि मन्त्रीले उक्त कदम चालेको स्रोतले जनाएको छ। यसले प्रकरणलाई सामान्य प्रशासनिक विषयभन्दा माथि उठाएर सुशासन र उत्तरदायित्वसँग जोडिएको मुद्दा बनाएको छ।
स्रोतका अनुसार यसअघि मन्त्रीलाई प्रभावित पार्दै जुनु श्रेष्ठलाई नियुक्ति गराउन भूमिका खेलेको आरोप लागेको थियो। त्यही शैलीमा स्पष्टीकरणमार्फत पनि वास्तविकता ढाकछोप गर्ने प्रयास हुनसक्ने आशंका गरिएको छ, त्यसैले तथ्य र प्रमाणका आधारमा कडाइका साथ मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
यसै सन्दर्भमा मन्त्रीले डा. मुक्तिराम श्रेष्ठ तथा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई लगायतसँग छुट्टै छलफल गर्नुपर्ने देखिएको छ। उनीहरूले छुट्टै उपस्थितिमा हस्ताक्षर गर्न अस्वीकार गरेको सन्दर्भलाई समेत गम्भीर रूपमा लिनुपर्ने धारणा छ। जसले निर्णय प्रक्रियामा सम्भावित दबाब वा अनियमितताको संकेत गर्दछ।
क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस