वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थान अनुमतिलाई लिएर वैदेशिक रोजगार र अध्यागमन विभाग आमनेसामने


काठमाडौं। वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थान अनुमतिलाई लिएर वैदेशिक रोजगार र अध्यागमन विभाग आमनेसामने भएका छन्। श्रमिकको प्रस्थान अनुमतिको विषयमा वैदेशिक रोजगार विभागको सूचनालाई ‘काउन्टर’ दिएर अध्यागमन विभागले सूचना जारी गरेको छ। उक्त सूचनासँगै दुई विभाग आमनेसामने भएको हुन्।

वैदेशिक रोजगार विभागले चैत २३ गते वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरूले विमानस्थलमा जाँदा गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको विल/रसिद, म्यानपावर कम्पनीमा बुझाएको सेवा शुल्क वापतको आधिकारिक रसिद अनिवार्य रूपमा लैजानुपर्ने सूचना जारी गरेको थियो। तर, अध्यागमन विभागले भने त्यस्ता विल/रसिद नचाहिने भन्दै चैत २७ गते सूचना जारी गर्दै वैदेशिक रोजगार विभागको जारी गरेको सूचनालाई चुनौती दिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान हुने नेपाली श्रमिकहरूले विल/रसिद लगायतका थप कागजात लिएर मात्र प्रस्थान गर्ने सम्बन्धमा आम सर्वसाधारणमा उत्पन्न अन्यौलताप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यागमन विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार जाने श्रमिकको प्रस्थान अनुमतिका लागि टिकटको विल/रसिद देखाउनु पर्ने सूचनालाई अध्यागमन विभागले निष्क्रिय पारिदिएको हो। उक्त सूचनासँगै वैदेशिक रोजगार विभाग र अध्यागमन विभाग आमनेसामने भएका छन्। वैदेशिक रोजगार विभागको महानिर्देशक मिरा आचार्यले जारी गरेको सूचनालाई अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले औचित्यहीन बनाइदिएका हुन्।

अध्यागमन विभागले वैदेशिक रोजगार जाने श्रमिकको प्रस्थान अनुमतिलाई सहज पारिरहँदा वैदेशिक रोजगार विभागले भने झन टाइट पार्न खोजेको थियो। जेनजी आन्दोलनपछि बालेन सरकार आइसक्दा पनि वैदेशिक रोजगार विभागले सेवालाई थप असहज बनाउन खोजेको पाइन्छ। अध्यागमन विभागले वैदेशिक रोजगार विभागको उक्त सूचनालाई औचित्यहीन बनाइदिएको हो।

प्रधानमन्त्री सुशीला कार्कीकै इच्छामा महिलाको नेतृत्व परीक्षण गर्न वैदेशिक रोजगार विभागमा मिरा आचार्यलाई महानिर्देशक बनाएर पठाइएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन सचिव चन्द्रकला पौडेलले उत्कृष्ट सहसचिव भन्दै मिरालाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाउन भूमिका खेलेकी थिइन्। तर, मिरा गएपछि उक्त विभाग सुधार र कामले खासै गति लिएको थिएन। बालेन सरकार आएपछि पनि वैदेशिक रोजगार विभागबाट घुस लिएको आरोपमा कर्मचरी रंगेहात समातिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा हेमबहादुर मस्राङगी घुससहित रंगेहात समातिएका हुन्। अख्तियारले वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगी घुस/रिसवत र स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो। नासु रंगेहात समातिदा कार्यालय प्रमुखलाई जिम्मेवार बनाउने भनेको सरकारले समेत महानिर्देशक आचार्यमाथि कुनै एक्सन लिन सकेको छैन।

वैदेशिक रोजगार विभागकी महानिर्देशक आचार्य संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ छेडखानीमा विभागीय कारबाहीको सिफारिसमा परेकी कर्मचारी हुन्। जेनजी सरकारले उनै मिरालाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएको थियो। मिराको पछिल्लो निर्णय र नासु रंगेहात समातिएको विषयले उनी फेरि विवादमा तानिएकी छिन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #अध्यागमन विभाग, #मिरा आचार्य, #रामचन्द्र तिवारी, #विल/रसिद, #वैदेशिक रोजगार विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ