सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा


काठमाडौं। सिंहदरबारबाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका दुई शाखा अधिकृतले राजीनामा दिएका छन्। दार्चुलाको व्यास गाउँपालिकामा खटाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा पठाइएका शेखरनिधि पौड्यालले राजीनामा दिएका हुन्।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट दार्चुलाको व्यास गाउँपालिकामा सरूवा भएका हरि पौडेलले राजीनामा दिएको भूमि मन्त्रालय स्रोतले जनायो। उनले सवारीसाधन लगायतका लिएका सम्पूर्ण सामग्री बरबुझारथ गरिसकेको मन्त्रालय स्रोतले बतायो। जागिरे जीवनको उत्तरार्धमा रहेका हरिले खटाएको ठाउँ व्यास गाउँपालिका नगई राजीनामा ठोकेर हिँडेका हुन्।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नुवाकोटको तारकेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएका शेखरनिधि पौड्‌यालले पनि राजीनामा दिएका छन्। काठमाडौं उपत्यका नछाडेका शेखरलाई उपत्यकासँगै जोडिएको नुवाकोटको तारकेश्वर गाउँपालिका पठाइएसँगै उनले राजीनामा दिएका हुन्। मन्त्रालय स्रोतका अनुसार शेखरले राजीनामा बुझाइसकेका छन्। शेखर समय अगावै मन्त्रालय पुग्ने र काममा केन्द्रित हुने थोरै कर्मचारीमध्येमा पर्छन्। स्थानीय तहमा पठाएपछि उनले जागिर नै छाडिदिएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चैत २९ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत शेखरनिधि र हरिलाई स्थानीय तहमा खटाइएपछि राजीनामा दिएका छन्। स्वास्थ्य र पारिवारिक समस्या देखाउँदै उनीहरूले मैदान खाली गरेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हचुवाको भरमा सरूवा गर्दा पनि कतिपय कर्मचारी समस्यामा परेका छन्। कर्मचारीको अवस्था बुझेर मात्र सरूवा गर्दा कार्यान्वयन गर्न सहज हुने देखिन्छ। पिछडिएको क्षेत्रमा सोही कोटाबाट जागिर खाएकालाई खटाउन सरकारले ध्यान दिनुपर्ने हुन्छ।

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #शेखर निधि पौड्याल, #हरि पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ