सञ्चार सचिवमा पौडेल, ‘पिपिएमओ’मा पुडासैनी
काठमाडौं। सरकारले सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्रकुमार पौडेललाई सरुवा गरेको छ। कोशी प्रदेशका प्रमुख सचिव पौडेललाई सञ्चार सचिवमा सरूवा गरेको हो। उनी कोशी प्रदेशको प्रमुख सचिव भएको ९ महिना पुग्न लागेको छ।
५८ वर्ष पूरा भएर आगामी असारमा अनिवार्य अवकाशमा जाने सूचीमा रहेका सचिव पौडेल सञ्चारमा बसेर काम गरेका कर्मचारी हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताबाट सचिवमा बढुवा भएपछि कोशी प्रदेश पुगेका पौडेल ९ महिना अवधि पूरा हुन लागेपछि सञ्चार मन्त्रालय (संघ)मा सरूवा भएका छन्।
प्रदेशमा रहेका सचिवहरूमध्ये सञ्चारमा ल्याउन उपयुक्त सचिव उनै पौडेल थिए। लुम्बिनीका कृष्णप्रसाद काप्री र सुदूरपश्चिम प्रदेशका बैकुण्ठप्रसाद अर्याल शिक्षा पृष्ठभूमिका सचिव भएकाले सञ्चारमा काम गर्न उनीहरूलाई त्यति सहज देखिँदैन। सरकारले उपयुक्त पात्र हेरेर सञ्चार सचिवको जिम्मेवारी दिएको देखिन्छ।
त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)को सचिवमा विश्वबाबु पुडासैनीको सरुवा भएको छ। राष्ट्रिय सतर्कता केन्द्रको सचिव रहेका उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको हो। राष्ट्रिय सतर्कता केन्द्रमा प्रशासन तर्फका सचिवको दरबन्दी राखिएपछि प्राविधिक सचिव पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ। पिपिएमओ र केन्द्रमा प्रशासन र प्राविधिक सचिवको दरबन्दी साटफेर गरिएको हो। खानेपानी मन्त्रालयबाट फाजिलमा परेर राष्ट्रिय सतर्कता केन्द्र पुगेका पुडासैनी त्यहाँबाट पनि फाजिलमा परेर पिपिएमओ पुगेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #राजेन्द्रकुमार पौडेल, #विश्वबाबु पुडासैनी


तपाईको प्रतिक्रिया दिनुहोस