कोलकाताबाट राजस्वका उपसचिव गगन र प्रशासनका अधिकृत रोशन फिर्ता
काठमाडौं। भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासबाट एक उपसचिव र एक अधिकृत फिर्ता हुने भएका छन्। उक्त महावाणिज्यदूतावासबाट नेपाल प्रशासन सेवा राजस्व समूहका उपसचिव (नायब महावाणिज्यदूत) गगन बहादुर बि. के. र सामान्य प्रशासन समूहका शाखा अधिकृत (वाणिज्यदूत) रोशन राई फिर्ता हुने भएका हुन्। परराष्ट्रको पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)मा उनीहरूको दरबन्दी काटिएकाले बि.के. र राई फिर्ता हुने अवस्थामा पुगेका छन्।
कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा ७ दरबन्दीबाट कटौती गरेर ५ वटामा सीमित गरिएको छ। अनावश्यक र औचित्यहीन राजस्वको उपसचिव (नायब महावाणिज्यदूत) र प्रशासनको शाखा अधिकृत(वाणिज्यदूत)को दरबन्दी काटिएको हो। उक्त दरबन्दी कटौतीमा परेसँगै सो दरबन्दीमा कार्यरत बि. के. र राई फिर्ता हुने अवस्थामा पुगेका छन्। परराष्ट्र मन्त्रालयले उनीहरूको फिर्ती सवारीको व्यवस्था गर्न लागेको हो।
कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा महावाणिज्यदूत (सहसचिव) झक्कप्रसाद आचार्य, नायब महावाणिज्यदूत (राजस्व) गगन बहादुर बि. के., नायब महावाणिज्यदूत (प्रशासन/वाणिज्य) दीपेश लेखक, वाणिज्यदूत (परराष्ट्र) टिकाराम उपाध्याय, वाणिज्यदूत (प्रशासन/वाणिज्य) रोशन राई, उपवाणिज्यदूत (लेखापाल) सुभाषचन्द्र बास्तोला र उपवाणिज्यदूत(परराष्ट्र ना.सु.) सुरेशराज रेग्मी कार्यरत छन्। ७ जनाको दरबन्दी रहेको कोलकातास्थित महावाणिज्यदूतावासमा राजस्वको उपसचिव र सामान्य प्रशासन समूहको शाखा अधिकृत कटौतीमा परेको छ। दुई दरबन्दी कटौतीमा परेसँगै उक्त दरबन्दीमा कार्यरत राजस्वका नायब महावाणिज्यदूत गगन र प्रशासनका वाणिज्यदूत रोशन फिर्ता हुने भएका छन्। उनीहरूलाई फिर्ता बोलाउन परराष्ट्र मन्त्रालयले जाँचोपाँचो मिलाउन थालेको छ। मन्त्रालयले दसैँ मनाउन आएको बेला नै नफर्किने गरी सबै सामान लिएर नेपाल आउने प्रबन्ध मिलाउने तयारी गरेको हो।
क्याटेगोरी : समाचार
ट्याग : #गगन बहादुर बि. के., #रोशन राई


तपाईको प्रतिक्रिया दिनुहोस