सिडिओबाट सीधै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका उपसचिव


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सीधै प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट स्थानीय तहमा सरूवा गर्न थालेको छ। रविन्द्रप्रसाद आचार्य, बन्दना राई, मुकेशकुमार केशरी त्यसका पछिल्ला उदाहरण हुन्। सामान्य अधिकार प्रयोग गर्दा पहुँचवाला उपसचिवहरू सिडिओबाट प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा पुगेका हुन्।

सामान्य प्रशासन मन्त्रालयले म्याग्दीको सिडिओ रविन्द्रप्रसाद आचार्यलाई सिडिओबाट सीधै सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। त्यो क्रम बन्दना राई, मुकेशकुमार केशरीसम्म आइपुगेको छ। म्याग्दीका सिडिओ रविन्द्रलाई सप्तरीको हुनमाननगर पठाएको सामान्य प्रशासन मन्त्रालयले तेह्रथुमको सिडिओ बन्दना राईलाई कञ्चनपुरको शुक्लाफाँट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा हो। उनी उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भइसकेकी छिन्। बन्दना शुक्लाफाँट गएपछि गृहले तेह्रथुमको सिडिओमा अशोक काफ्लेलाई पठाएको छ। रविन्द्रको ठाउँ म्याग्दीमा भने गृह मन्त्रालयका उपसचिव गणेश गैह्रे सिडिओ भएर गएका हुन्।

म्याग्दीका रविन्द्र र तेह्रथुमकी बन्दनापछि बझाङका सिडिओ मुकेशकुमार केशरी स्थानीय तहमा लखेटिएका छन्। बझाङका सिडिओ केशरी सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका हुन्। सामान्यले २०८२ भदौ १२ गते केशरीलाई सिराहाको सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा कार्यरत केशरी सरूवा बदर गरेर गृहमै बस्न सफल भए। गृहले गत माघमा केशरीलाई बझाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा पठाएको थियो। ९ महिना पूरा हुन लागेका केशरीको स्थानीय तहमा सरूवा गरिएको हो।

मन्त्री प्रतिभा रावलको फेला परेपछि केशरी बझाङको सिडिओबाट उछिट्टिएर सुनसरीको रामधुनी नगरपालिकामा पुगेका हुन्। गृहले बझाङमा अर्को सिडिओ नपठाएकाले केशरी जिल्ला छाडेका छैनन्। तर, यसपटक उनी जसरी पनि स्थानीय तहमा जानुपर्ने अवस्थामा रहेका छन्। रामधुनीका प्रमुख प्रशासकीय अधिकृत तेजनारायण यादव भ्रष्टाचार मुद्दा लागेर निलम्बित भएपछि बझाङका सिडिओ केशरीलाई रामधुनीको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको हो।

सिडिओबाट समन्वयमा पुऱ्याइए

सिडिओबाट नगरपालिका भनेझैं सिडिओबाट जिल्ला समन्वय समिति पनि पठाउन थालिएको छ। बद्रीप्रसाद तिवारी म्याग्दीको सिडिओबाट सरूवा भएर पर्वतको जिल्ला समन्वय अधिकारी बनेर गएका थिए। अहिले डोरेन्द्र निरौला जिल्ला समन्वय समितिको कार्यालय धनकुटा पुगेका छन्। बाजुराका सिडिओ निरौला धनकुटाको जिल्ला समन्वय अधिकारीमा सरूवा भएका हुन्।

तिवारी र निरौला सिडिओबाट जिल्ला समन्वय अधिकारी बनेका हुन्। यस्ता उदाहरण थुप्रै देखिन्छन्। सामान्यले पहँचवालाई उपसचिवलाई खोजीखोजी सरूवा गरेर ठेगान लगाएको पाइन्छ। पहुँचवा लालाई ‘साइज’मा ल्याउने यस्ता सरूवाले सामान्य प्रशासन मन्त्रालयको भूमिका र एक्सनलाई माथि उठाएको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #बन्दना राई, #मुकेशकुमार केशरी, #रविन्द्रप्रसाद आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ