कोरोनाले ओझेलमा किटजन्य रोग


काठमाडौं । अहिले विश्व समुदाय मात्रै हैन नेपाल पनि कोरोनाको भयमा रुमल्लिएको छ । सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोरोना महामारी पटक पटक गरी तेस्रो छाल सुरु भएको छ । त्रिशुली अस्पताल नुवाकोट, गण्डकी स्वास्थ्य निर्देशनालयले तेस्रो छालका रुपमा नयाँ भेरिएन्ट पुष्टि भएको औपचारीक जानकारी गराइसकेका छन् ।

कोरोना भाइरस संक्रमणको खतरासँगै खुला रुपमा हिँडडुल गर्न र पैदल यात्रा गर्न विगतमा जस्तो सहज छैन । अस्पतालहरुले नियमीत बिरामी जाँच गर्न सुरु गरेका छैनन् । सहज रुपमा ओपिडि संचालन नभएकाले बिरामीलाई अस्पताल धाउन अरू कठिन हुन्छ ।

विगत दुई वर्ष देखि देश पुरै कोरोना नियन्त्रणमा केन्द्रित छ । वर्षायाम चलिरहेकाले कोरोना भन्दा बाहिर पनि अन्य थुप्रै संक्रामक रोगहरु फैलिरहेका छन् । कोरोना संक्रमणका बिच इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जुनीयर कर्मचारीहरु भेक्टरवन डिजिजको जोखिम कम गर्नमा केन्द्रित छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल मलेरिया, कालाजार, डेङ्गु, इन्फ्लुएन्जा, स्क्रब टाइफस लगायतको जोखिम देखिएको छ । महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार भेक्टिरवन डिजिजहरु भएपनि कोरोनाका कारण केही ओझेल परेको छ । कोरोना नियन्त्रणमा राज्य जुटेका बेला यी किटजन्य रोगहरुको जोखिम न्यूनीकरणमा राज्यको योगदान विगतमा भन्दा केही कमी पक्कै भएको छ पौडेलले भने ।

‘स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका पौडेलले भने, ‘कोरोनाले किटजन्य रोगमा राज्यको ध्यान अवश्य पनि कम छ । तर, कामै नगरी महाशाखा बसेको पक्कै छैन । आवश्यक पर्ने औषधि, जनशक्ति लगायत सबै खाले स्रोत साधनको व्यवस्थापन भएको छ ।’ अधिकारीहरुले किटजन्य रोगहरु भन्दा पनि हाल कोरोना नियन्त्रण गर्नु मुख्य चुनौती भएको बताएका छन् ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अहिले देखिने रोगहरुमा धेरै जसो कोभिडसँग मिल्ने लक्षणहरु हुन्छन् । स्क्रब टाइफस, ‘इन्फ्लुएन्जा’ मलेरिया, डेगु जस्ता बिभिन्न किटजन्य रोगहरु कोभिडसँग मिल्ने लक्षण भएकाले धेरै मानिसहरु भ्रममा पर्ने गरेका छन् उनले भने ।

सहयोगी दाता बेपत्ता
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महामारीका क्षेत्रमा रहेर काम गर्ने करिब २ सय ३८ गैरसारकारी सस्था छन् । ४ हजारको हाराहारीमा एनजीओ छन् । जसले कोरोना नियमीत रुपमा भेक्टरवन डिजिजका क्षेत्रमा काम गर्दै आएका छन् । तर, कोरोनाको समयमा उनिहरु निस्कृय भएको महाशाखाका एक अधिकारीले बताए । महामारीको समयमा महाशाखाका कर्मचारीहरुले कोरोनासँगै अन्य किटजन्य रोगका क्षेत्रमा पनि नियमीत काम गरेका छन् ।

सावधानी कसरी हुने
डा शेबहादुर पुन भन्छन्, सामान्य सावधानी अपनाए यी भाइरसबाट जोगिन सकिन्छ । व्यक्तिगत सरसफाइ सबैभन्दा महत्त्वपूर्ण हो । डा पुन भन्छन्, खोक्दा र हाच्छ्युँ गर्दा रुमाल या कुमले मुख छोप्नुपर्छ । भिडभाडबाट टाडै बस्ने र समय समयमा साबुन पानीले हात धुने गर्नुपर्छ । त्यसैगरी धेरै मात्रामा झोलिलो खानेकुरा खानु पर्छ ।

हाल जोखिममा रहेका रोग

मलेरिया ः मलेरिया एनाफिलिज नामक लामखुट्टेबाट सर्छ । मलेरियाको मुख्य कारण ‘प्यारासाइट प्लास्मोडियम’ लाई पनि मानिन्छ । पाँच वर्षमुनिका बालबालिका, गर्भवती र दीर्घरोगी मलेरियाको जोखिम समूह हुन् । टाउको दुख्नु, बान्ता आउनु, ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् ।

कालाजार ः कालाजार रोग सार्ने भुसुना माटोको घर भएको स्थानमा राम्ररी हुर्किन्छन् । पोथी भुसुनाले मानिसको रगत चुस्छ र एकअर्कामा सार्छ । कालाजार हल्का ज्वरो, कमजोरी र भोकको कमीले हुन्छ र सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजोको समस्या, छाला कालो हुनु, पेट फुल्नु, कमजोरीका लक्षण देखिन्छन् ।

स्क्रब टाइफस ः संक्रमित व्यक्तिलाई अत्यधिक ज्वरो आउने, सास फेर्न गाह्रो हुने, बेस्सरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, विभिन्न अंगमा स–साना बिमिरा देखिने, हल्का आँखा रातो हुने स्क्रब टाइफसका लक्षण हुन् । पाँचदेखि १४ दिनभित्र यसका लक्षण देखिन्छन् ।

डेंगु ः लामखुट्टेको टोकाइबाट लाग्नेमध्ये डेंगु सबैभन्दा घातक हो । यो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ ।

मौसमी रुघाखोकीः

मौसमी रुघा खोकीका बिरामीहरु पनि देखिन थालेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा रुणा झा मौसमी रुघा खोकीका बिरामीहरु पनि देखिन थालेको बताउँछीन । तर, कोरोनाका कारण यो परिक्षण ओझेलमा परेको छ । हामीले कोरोना परिक्षण गर्दा कोभिड पुष्टि नभएको तर, लक्षण फ्लुको जस्तो देखिएमा त्यसलाई मौसमी रुघा खोकी ‘इन्फ्लुएन्जा’ मा समावेश गराउदै आएका छौं ।सामान्य मौसमी रुघाखोकी हो कि कोरोना भाइरसको लक्षण,यसरी जानी राखाैँ

सास फेर्न गाह्रो हुने, लगातार ज्वरो आउने लक्षण इन्फ्लुएन्जा भएको व्यक्तिमा देखिन्छ । मधुमेह, दम र अन्य दीर्घरोग भएका र कमजोर व्यक्तिरूमा भने यसले तुरुन्तै आक्रमण गर्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com