स्वास्थ्य राज्यमन्त्रीको अस्पताल, सरकारी भन्दा केही महंगो अन्य निजी अस्पताल भन्दा सस्तो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफूले लगानी गरका अस्पतालहरु गैरनाफामुलक हुने दाबी गरेका छन् । उनी आवद्ध रहेको महेन्द्र नारायण निधि अस्पतालले नियमीत सेवा दिएको छ भने, लामो समय बन्द रहेको जनमैत्री अस्पताल संचालनको तयारीमा छ ।

जनमैत्री अस्पतालमा हाल कोरोना संक्रमितको मात्रै उपचार भइरहेको छ । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा राज्यमन्त्री श्रेष्ठले आफूले सञ्चालन गरेको अस्पताल गैरनाफामुलक हुने बताए । ‘मैले नाफा नलिने सर्तमा सेवामुलक अस्पताल सञ्चालन गरेको हो उनले भने ।

सरकारको साधन स्रोतले नधान्ने अवस्थामा हामी सक्ने मान्छेले तेस्रो लहर पनि आउन सक्छ भनेर सेवा मुलक अस्पताल सञ्चालन गरेको हो,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘विशुद्ध सेवामुलक भावलेनै अस्पताल सञ्चालन गर्न खोजिएको हो।’ जनमैत्री अस्पतालका प्रमुख डा रोशन गुरुङ्ले बिरामी भर्ना लिने समय अझै नभएको बताए । ‘हामीले सरकारी अस्पताल सरह नै सेवा दिने भनेर तयारी गरिरहेका छौं डा गुरुङ्ले भने, त्यसका लागि परिक्षण गर्दा लाग्ने शुल्कका विषयमा गृहकार्य भइरहेको छ ।’

गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिने उदेश्यले अस्पताल संचालन गर्न लागेका हौं उनले भने । ‘हामीले मुल्य पनि तोकिसकेका छैनौं । कोभिडका बिरामी मात्रै भर्ना भएकाले सामान्य बिरामी भर्ना गरेका छैनौं । अब केही समय पछि सामान्य बिरामी पनि हेर्न सुरु गछौं ।’

जनमैत्री अस्पतालले सबै परिक्षणको शुल्क तयार नपारे पनि हाललाई सामान्य वेडको दैनिक ३ सय, सामान्य शल्यक्रियाको २५ सय, जटिल शल्यक्रिया गरेको १५ हजार तोकेको छ । सुगर जाँच गरेको ८० रुपैँया, एक्सरे गरेको ५ सय, ओपिडी शुल्क ३ सय र युएसजी गरेको ७ सय रुपैयाँ तोकेको छ । तयो यो शुल्कमा पनि केही घट्न सक्ने उनले बताए । जनमैत्री अस्पतालको शुल्क करिब सरकारी अस्पतालको हाराहारीमा छ ।

राज्यमन्त्री श्रेष्ठले सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व भएको बताए । स्वास्थ्य राज्यमन्त्री नियुक्त भएसँगै आफ्नो पहिलो प्राथमिकता नागरिकलाई खोप लगाउनु र व्यवस्थित रुपमा खोप संचालन गर्ने भएको उनले बताए । उनले बताए अनुसार कोभिडमा खटिएका फ्रन्टलाइनर, सवारी साधनका चालक, शिक्षकहरुलाई प्राथमिकता दिएर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

तेस्रो लहरको तयारी स्वरुप स्वास्थ्य मन्त्रालयले गम्भीर भएर अक्सिजन र पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिने बताए । करिब ११ हजार अक्सिजन सिलिण्डर भरेर राख्न अधिकारीहरुलाई निर्देशन भइरहेको छ ।

सरकारीमा भन्दा केही महंगोः अन्य निजी अस्पताल भन्दा सस्तो

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको लगानी रहेका अस्पताल सरकारी भन्दा केही महंगो र अन्य निजी अस्पताल भन्दा सस्तो पाइएको छ । वीर अस्पतालमा सामान्य बेड निःशुल्क उपलब्ध छ । शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । निजी अस्पताल बयोधामा भर्ना हुनासाथ १५००, नर्भिकमा २०००, ग्रान्डीमा २०९० , मेडिसिटीमा ३२५० तिर्नुपर्छ । तर, स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठको लागी रहेको जनमैत्री अस्पता ३०० र महेन्द्र नारायण निधि अस्पतालमा ७ सय तिर्नुपर्छ ।

त्यस्तै, क्याबिन लिएमा वीर अस्पतालमा १००० र शिक्षण अस्पतालमा १४००, नर्भिकमा ८०००, बयोधामा ८५००, मेडिसिटीमा १००००, ग्रान्डीमा १०२८३ तिर्नुपर्छ । यता जनमैत्रीमा क्याविनको शुल्क तय भएको छैन भने महेन्द्र नारायण निधि अस्पतालमा क्याविन ७००० रुपैयाँ छ ।

महेन्द्र नारायण निधि अस्पतालका म्यानेजिङ डाइरेकटर हरि पाण्डेका अनुसार अस्पताले पैसा तिर्न नसक्नेहरुका लागि निशुल्क पनि सेवा दिदै आएको छ । हप्ताको दुई दिन अस्पतालले निशुल्क सेवा दिएको छ । त्यति मात्रै हैन हरेक उपचारमा ५० प्रतिशत सम्म छुटेको व्यवस्था गरेको छ । सामुदायीक अस्पताल भएकाले नाफा कमाउने हिसावले अस्पताल खोलीएको हैन । यसबाट कमाएको रकम कर्मचारीका लागि मात्रै ठिक्क भएको छ ।

‘हाम्रो अस्पतालको सेवा सरकारी भन्दा केही महंगो छ पाण्डेले भने, तर, अरु निजी अस्पतालको भन्दा धेरै सस्तो छ ।’ वीर अस्पतालमा भिभिआइपी बेडको ३००० रुपैयाँ शुल्क छ, बयोधामा ए सुइटको १५०००, मेडिसिटीमा २७०००, ग्रान्डीमा २८०२४ र नर्भिकमा रिगल सुइटको ४५००० सम्म तिर्नुपर्छ । जनमैत्री र महेन्द्र नारायण निधि अस्पताल यस्तो व्यवस्था छैन ।

बिरामीलाई आइसियूमा राख्नुपरेमा शिक्षणमा ११०० र वीरमा ३००० तिरे पुग्छ । तर, बयोधामा ८५००, नर्भिकमा ८७५०, ग्रान्डीमा १६९५०, मेडिसिटीमा २१०००, महेन्द्र नारायण निधि ५००० र जनमैत्रीमा ४००० तिर्नुपर्छ ।

यता ब्लड कल्चर गर्दा वीर अस्पतालमा १५०, शिक्षणमा १७० लाग्छ भने बयोधामा ३७५, ग्रान्डीमा ५००, नर्भिकमा ५०० मेडिसिटीमा १६५०, महेन्द्र नारायण निधि ३५० र जनमैत्री अस्पतालमा २०० तिर्नुपर्छ । त्यस्तै ग्लुकोज परीक्षण गर्दा वीरमा ४०, शिक्षणमा ५०, ग्रान्डीमा ११०, नर्भिकमा १७०, बयोधामा १५०, जनमैत्रीमा ५० र महेन्द्र नारायण निधिमा ८५ रुपैयाँ लाग्छ ।

इसिजी जाँच गर्दा वीरमा १५०, शिक्षण १७० लाग्छ भने बयोधामा ३७५ तिर्नुपर्छ । यही शीर्षकमा मेडिसिटी, नर्भिक र ग्रान्डीमा पाँच–पाँच सय तिर्नुपर्छ । तर, महेन्द्र नारायण निधिमा ३०० तिर्नुपर्छ । जनमैत्रीमा भने सुचि बनाउँदै गरेकाले मुल्य तोकिएको छैन ।

एक्सरे गरेको वीरमा २०० र शिक्षणमा ३०० रुपैयाँ लाग्छ । तर, ग्रान्डीमा ५५०, नर्भिकमा ३२०० सम्म र मेडिसिटीमा १८०० सम्म लाग्छ भने, जनमैत्रीमा ५०० र महेन्द्र नारायण निधिमा ४०० रहेको छ ।

निजी अस्पतालको दबावमा शुल्क निर्धारण समितिको बैठक बसेन
निजी अस्पतालहरुले बिरामी ठगेको उजुरी स्वास्थ्य मन्त्रालय र मातहतमा धेरै परेको छ । तर, निजी अस्पतालको दबावमा सरकारी अधिकारीहरुले शुल्क निर्धारण समितिको बैठक आठ वर्ष देखि राख्न सकेका छैनन् । बैठक आह्वान गरेपनि कोरम पुग्दैन एक अधिकारीले भने ।

धेरै अन्तरमा शुल्क असुलेको उजुरी परेपछि आठ वर्षअघि निजी स्वास्थ्य संस्थाको शुल्क निर्धारण गर्न सरकारले समिति गठन गरेको थियो । तर, स्वास्थ्यसचिव नेतृत्वको समितिको बैठक पाँच वर्षमा एकपटक मात्रै बसेको छ । स्वास्थ्य संस्था सञ्चालक, स्थापना र स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० अनुसार तत्काल शुल्क निर्धारण समिति गठन भए पनि अहिले सम्म कुनै सक्रियता देखिएन । कुराले ठिक्क पार्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु व्यवहारमा धेरै पछाडी छन् ।

निजी अस्पतालले चर्को शुल्क लिएको चौतर्फी गुनासो आएपछि २६ माघ ०७४ मा मात्रै समितिको बैठक बस्यो । बैठकले चिकित्सा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको थियो । तर, अहिले सम्म कुनै प्रगति भएको छैन । अस्पतालहरुले शुल्लको सुचि समेत मन्त्रालयलाई बुझाएका छैनन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com