सँगैका सहसचिव न्यायाधीश बनेर फैसला गरिरहँदा पाण्डेय मुख छोपेर ‘कुलिङ पिरियड’को ‘लबिइङ’मा

काठमाडौं। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेसँगै २०६६ चैतमा लालबहादुर कुँवर र रमेश ढकाल न्याय सेवाका सहसचिव बनेका हुन्। खुला प्रतिस्पर्धाबाट कुँवर न्याय समूह र ढकाल कानुन र पाण्डेय सरकारी वकिल समूहमा सहसचिव बन्न सफल भए। सँगैका सहसचिव कुँवर र ढकाल न्यायाधीश बनेर फैसला गरिरहेका पाण्डेय भने मुख्यसचिव एकनारायण अर्यालसँग मिलेर कुलिङ पिरियड हटाउन ‘लबिइङ’मा लागेका छन्।
कुँवर सर्वोच्च अदालतले मुख्य रजिष्ट्रार हुँदै उच्च अदालतको न्यायाधीश बने। अहिले उनी उच्च अदालत पाटनको कायममुकायम मुख्य न्यायाधीश छन्। उस्तै परे कुँवर सर्वोच्च अदालतको न्यायाधीश बन्न सक्छन्। उनलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कायममुकायम मुख्य न्यायाधीश बनाएका हुन्।
न्याय समूहका कुँवरसँगै सहसचिव बनेका कानुन समूहका रमेश ढकाल उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीश छन्। कानुन समूहको सचिव बनेर उच्च अदालतको न्यायाधीश खान गएका ढकाल उच्च अदालतको नेतृत्वमा पुग्न खोजिरहेका छन्। उस्तै परे उनी पनि सर्वोच्च पुग्ने ‘ख्याक’ राख्छन्। सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि ढकाल चर्चामा आएका थिए। उनीसहितको इजलासले दिएको आदेश सर्वोच्चले समेत सदर गरिदिएको छ। सर्वोच्चको पछिल्लो आदेशले न्यायाधीश ढकालको चर्चा झनै चुलिएको पाइन्छ।
कुँवर र ढकालसँगै सहसचिव बनेका संसद्का महासचिव पाण्डेय पनि अहिले चर्चामा छन्। सरकारी वकिल महान्यायाधिवक्ता कार्यालयकाे विशिष्ट श्रेणी नायब महान्यायाधिवक्ता (सचिव), संघीय संसद् सचिवालयको सचिव हुँदै महासचिव बनेका पाण्डेय कुलिङ पिरियडको ‘लबिइङ’मा मुख्यसचिव एकनारायण अर्यालसँगै डायरीले मुख छोपेर लागेपछि निकै चर्चामा आएका हुन्। सरकारी वकिल समूहको सचिव भएर व्यवस्थापिकाको सचिव र महासचिव भइसकेका पाण्डेय अनावश्यक ‘लबिइङ’मा लागेपछि चर्चित मात्र बनेका छैनन् फेसबुकमा स्टाटस लेखेपछि विवादमा समेत तानिएका छन्। सँगैका सहसचिव न्यायाधीश बनेर फैसला गरिरहँदा पाण्डेय भने भविष्यमा नियुक्ति चिन्ता लिएर सांसदहरूको गरेको निर्णय उल्ट्याउन लागिपरेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #पद्मप्रसाद पाण्डेय, #रमेश ढकाल, #लालबहादुर कुँवर
तपाईको प्रतिक्रिया दिनुहोस