शिक्षा सेवाबाट आएका २ सचिव: विशेष दरबन्दीका खगेन्द्र नेपाल, विशेष परिस्थितिका खगेन्द्र सुवेदी


काठमाडौं। शिक्षा सेवाका खगेन्द्रप्रसाद नेपाल र खगेन्द्रप्रसाद सुवेदी सचिव भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेला भएका छन्। ४ वर्ष अघि विशेष दरबन्दीमा बढुवा भएका नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै छन्। सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस भएपनि पहिलो नम्बरलाई ‘चक्मा’ दिँदै सचिव बन्न सफल सुवेदी पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा पदस्थापन भएका हुन्। उनी सोमबार मात्र पहिलो नम्बरमा सिफारिस भएका डण्डुराज घिमिरेलाई पछि पार्दै सचिवमा बढुवा भएका थिए।

२०७८ असार २८ गते सचिवमा बढुवा भएका शिक्षा सेवा, शिक्षा प्रशासन समूहका नेपाल ‘फरक क्षमता’का व्यक्ति हुन्। उनी २०८२ असार २८ गतेबाट अनिवार्य अवकाशमा जानेछन्। ‘फरक क्षमता’ भएका कारण नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष दरबन्दी खडा गरेर सचिव बनाइएको हो।

शिक्षा सेवा कै सहसचिव सुवेदी पनि विशेष क्षमता देखाएर २ नम्बरबाटै सचिवमा उक्लन सफल भएका छन्। सुवेदी अहिलेको कानुन अनुसार ५८ वर्षे उमेर हदका कारण साढे २ महिनापछि (भदौं १८ गते) अनिवार्य अवकाशमा जाँदैछन्। साढे २ महिना सचिव बन्न एकमात्र मुख्य मनोविज्ञानवेत्ता सुवेदी सफल भएका छन्। लोक सेवा आयोगको मुख्य मनोविज्ञानवेत्ताको रूपमा कार्यरत सहसचिव सुवेदी दोस्रो प्रयासमा दोस्रो नम्बरबाटै सचिव बन्न सफल भएका हुन्। शिक्षाका खगेन्द्रप्रसाद नेपाल र खगेन्द्रप्रसाद सुवेदी अहिले सचिव भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #खगेन्द्रप्रसाद नेपाल, #डा. खगेन्द्र प्रसाद सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ