लागू औषधमुक्त कीर्तिपुरका लागि शिक्षकहरूको अग्रसरता जरुरी : नेता केसी
लागू औषध दुर्वेशन रोक्न शिक्षकहरूलाई दुई दिने तालिम सम्पन्न

कीर्तिपुर । नेपाली कांग्रेसका नेता राजन केसीले कीर्तिपुर नगरपालिकालाई लागू औषधमुक्त क्षेत्र बनाउन विद्यालय शिक्षकहरूको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको बताएका छन्। उनका अनुसार समाजमा बढ्दो लागू औषध दुर्व्यसनको समस्या समाधान गर्न समुदायका शिक्षकहरू अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता छ।
नेता केसीले नगर क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालयका ३६ जना शिक्षकलाई सम्बोधन गर्दै भने, “तपाईंहरूको यो तालिम सफलतापूर्वक सम्पन्न भएको छ भन्ने मलाई विश्वास छ। यसले आगामी दिनमा कीर्तिपुरलाई लागू औषधमुक्त क्षेत्र घोषणा गर्न महत्वपूर्ण टेवा पुर्याउनेछ।”
उनले विद्यालयकै तहबाट लागू औषधबारे सचेतना फैलाउनुपर्ने उल्लेख गर्दै अभिभावक, विद्यार्थी र समुदायलाई समेट्ने कार्यक्रमहरू सञ्चालन गर्न शिक्षकहरूको भूमिका निर्णायक हुने धारणा व्यक्त गरे।
१ लाख ३० हजार लागू औषध प्रयोगकर्ता, सुधार केन्द्रमा ५ हजार मात्रै
नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या १ लाख ३० हजार माथि पुगेको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ। तर, उपचार सेवाको पहुँच अत्यन्तै सीमित छ। देशभर ३३० वटा सुधार केन्द्रहरूमार्फत हाल जम्मा ५ हजार मात्र सेवा लिइरहेका छन्। बाँकी १ लाख २५ हजार व्यक्ति भने उपचारको दायराबाहिर समाजमै खुला रूपमा रहेका छन्।
यही गम्भीर अवस्थालाई लिएर गृह मन्त्रालय लागू औषध नियन्त्रण शाखाको सहयोगमा, कीर्तिपुर नगरपालिकाले आयोजना गरेको तालिममा, Richmond Fellowship Nepal को सहकार्यमा लागू औषधसम्बन्धी जोखिम, रोकथाम र पहिचानका विषयमा शिक्षकहरूलाई प्रशिक्षण दिएको थियाे ।
डा. मल्ल : “उनीहरू हाम्रो वरिपरि खुला समाजमै छन्”
कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. सगुन बल्लभ मल्लले भने, “यदि १० हजार पनि उपचारमा छैनन् भने १ लाख २० हजार कहाँ छन्? ती सबै व्यक्ति हाम्रो वरिपरि समाजमै छन्। उनीहरूलाई बेवास्ता गरेर होइन, साथ दिएर पुनःस्थापनाको दिशामा लैजानुपर्छ।”
उनले सुधार केन्द्रहरूको संख्यामा वृद्धि भए पनि गुणस्तरमा खास सुधार नभएको बताए। “धेरै केन्द्र व्यवसायिक बनेका छन्, तर प्रभावकारी उपचार र पुनर्स्थापनाको काम गर्न सकिरहेका छैनन्,” उनले भने।
गाँजा, अफिन र सुईको प्रयोग बढ्दो, सूर्ती–रक्सी गणना बाहिर
पछिल्ला वर्षहरूमा गाँजा, अफिन, र सुईको माध्यमबाट लागू औषध सेवन गर्ने युवाको संख्या बढ्दो छ। गाँजालाई ‘प्राकृतिक’ भनेर सामान्यीकरण गरिँदा युवामा यसको प्रयोग तीव्र गतिमा बढेको डा. मल्लको भनाइ छ। उनले चेतावनी दिए, “गाँजाले गम्भीर मानसिक समस्या ल्याउन सक्छ, यसको प्रचार होइन, नियन्त्रण जरुरी छ।”
यस्तै, सूर्तीजन्य र रक्सिजन्य दुर्व्यसन भने हालको सरकारी तथ्यांकमा समावेश छैन। विज्ञहरूका अनुसार ती पनि समावेश गरियो भने नेपालमा दुर्व्यसनको अवस्था अझ भयावह हुनसक्छ।
शिक्षकमार्फत समाज–परिवर्तनको अभियान
तालिमले विद्यालयमै लागू औषधविरुद्धको सचेतना अभियान सुरु गर्नुपर्ने सन्देश दिएको छ। शिक्षकमार्फत विद्यार्थी, अभिभावक र समुदायसम्म जिम्मेवार सन्देश पुर्याउने कीर्तिपुर नगरपालिकाको योजना छ। तालिमले विद्यालयलाई लागू औषध नियन्त्रणको केन्द्रबिन्दु बनाउने लक्ष्य लिएको छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस