प्रशासकीय अदालतको अध्यक्षमा डा. घिमिरे, सदस्यमा श्रेष्ठ र यादव नियुक्त

काठमाडौं। सरकारले कर्मचारी सम्बन्धी मुद्दा हेर्ने प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरेलाई नियुक्त गरेको छ। सरकारले उनलाई ५ वर्षका लागि प्रशासकीय अदालतको अध्यक्षमा नियुक्त गरेको हो। त्यस्तै उक्त अदालतको दुई सदस्यमा आलोकचन्द्र श्रेष्ठ र नवलकिशोर यादव नियुक्त भएका छन्। सोमबार साँझ बालुवाटार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासकीय अदालतलाई पूर्णता दिएको हो।
डा. घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्तिका लागि न्याय परिषद्ले परामर्श दिएको दुई साता भइसकेको थियो। सदस्यमा कुरा नमिल्दा उनको नियुक्त ‘होल्ड’मा परेको थियो। अब भने डा. घिमिरेले प्रशासकीय अदालतको अध्यक्षको भूमिकामा काम गर्न पाउने भएका छन्।
उच्च अदालतको मुख्य न्यायाधीश सरह सेवा सुविधा हुने प्रशासकीय अदालतको अध्यक्ष र उच्चको न्यायाधीश सरह सेवा सुविधा हुने सदस्य पद आकर्षक मानिन्छ। सरूवा भएर बाहिर जानु नपर्ने र कामको चाप पनि खासै नहुने भएकाले प्रशासकीय अदालतमा अध्यक्ष र सदस्य बन्न निकै प्रतिस्पर्धा चल्ने गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले सहन्यायाधिवक्ता कोषहरि निरौलालाई प्रशासकीय अदालतको सदस्य बनाउन खोजेपछि प्रशासकीय अदालतको अध्यक्ष र सदस्य नियुक्ति हुन सकेको थिएन। लामो रस्साकस्सीपछि प्रशासकीय अदालतले अध्यक्ष र सदस्य पाएको हो।
कानुनमन्त्री चौरासियाले निरौलालाई प्रशासकीय अदालतको सदस्य बनाउन प्रस्ताव लिएर गएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए। निरौलाको राजीनामा समेत स्वीकार गर्न प्रधानमन्त्री मानेनन्। त्यसपछि निरौलाको विकल्पमा कानुन मन्त्रालय लागेको थियो। कानुन मन्त्रालयले निरौलाको ठाउँमा आलोकचन्द्र श्रेष्ठको नाम प्रस्ताव गरेपछि मन्त्रिपरिषद्ले प्रशासकीय अदालतलाई पूर्णता दिएको हो।
कानुन समूहको सचिवबाट ५८ वर्ष लागेर साउन ८ गतेदेखि अनिवार्य अवकाशमा गएका श्रेष्ठ प्रशासकीय अदालतको अध्यक्षका आकांक्षी थिए। नायब महान्यायाधिवक्ता (विशिष्ट श्रेणी)बाट राजीनामा दिएका डा. घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्तिका लागि परामर्श दिएपछि श्रेष्ठ ‘ब्याक’ भएका थिए। उनै श्रेष्ठलाई प्रशासकीय अदालतको सदस्य बनाएको हो। श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगको सचिवको भूमिकामा काम गरिसकेका छन्।
अधिवक्ता यादव भने कानुनमन्त्री चौरासियाको रोजाइमा प्रशासकीय अदालतको सदस्य बनेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #आलोकचन्द्र श्रेष्ठ, #डा. टेकबहादुर घिमिरे, #नवलकिशोर यादव, #प्रशासकीय अदालत
तपाईको प्रतिक्रिया दिनुहोस