मुख्यसचिवको दौडमा रहेका सुवेदी वित्त आयोगमा फ्याकिएपछि जागिर छाडेर हिँडे

काठमाडौं। मंसिर १० गते एकनारायण अर्याल ५८ वर्ष पुगेर अनिवार्य अवकाशमा गएपछि मुख्यसचिव बन्ने दौडमा रहेका सचिव भरतमणि सुवेदीले राजीनामा दिएर हिँडेका छन्। पुस २८ गतेसम्म जागिर रहेका सुवेदी मुख्यसचिवको समेत ‘चान्स’ छाडेर राजीनामा दिएर हिँडेका हुन्। उनको राजीनामा समेत स्वीकृत भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पुष्टि गऱ्यो।
संघीय मामिला तथा सामान्य प्रशासन सचिव हुँदा ‘भावी मुख्यसचिव हुँ भन्ने’ सुवेदी निर्वाचन आयोग हुँदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पुग्दा चित्त दुखाएर राजीनामा दिन बाध्य भएका छन्। २०७८ मंसिर १५ गतेदेखि २०८० साउन ८ गतेसम्म करिब १ वर्ष ८ महिना वित्त आयोगको सचिवको भूमिकामा काम गरेका सुवेदी फेरि दोहोऱ्याएर त्यहिँ ठाउँमा फ्याकिएपछि २ महिनापछि फन्किएर जागिर छाडेका हुन्। नेकपा एमालेका महासचिव शंकर पोखरेल निकट दंगाली सुवेदीले दंग्याएर जागिर छाडेको सिंहदरबारभित्र चर्चा सुनिन्छ। कतिपयले भने उनले वित्त आयोगको अध्यक्ष वा सदस्य बन्नका लागि संघीय निजामती कानुन पास हुनुअगावै राजीनामा दिएको चर्चा गर्छन्। त्यो सम्भावनालाई पनि नकार्न सकिन्न।
२०६८ फागुनमा नेपाल शिक्षा सेवा पुरातत्त्व समूहको सहसचिव बनेका सुवेदी २०७७ पुस २९ गते नेपाल सरकारको सचिवमा बढुवा भएका थिए। सचिवमा बढुवा भएपछि सुवेदी लुम्बिनी प्रदेशको प्रमुख सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, निर्वाचन आयोगको सचिव हुँदै फेरि वित्त आयोग आइपुगेका थिए। वित्तमा चित्त बुझाउन नसक्दा अन्ततः राजीनामा दिएर हिँडेका छन्। सुवेदीको मुख्यसचिवको सपना समेत हुरीले उडाएको छ।
गृहसचिव गोकर्णमणि दुवाडी ५ वर्ष सचिव चलाएर मंसिर ९ गते घर जान लागेका छन्। मुख्यसचिव अर्याल र गृहसचिव दुवाडीले एकैदिन सरकारी सेवाबाट अवकाश पाउने भएपछि सुवेदीको आशा केही बढेको थियो। तर, वित्त आयोगमा फ्यालिएपछि उनी निराश बनेर जागिर छाडेका हुन्।
डेढ वर्ष बढी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बसेर बाहिरिएका सचिव भरतमणि सुवेदी जागिरे जीवनको उत्तरार्धमा वित्त आयोग नै फर्किएका थिए। वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोग पठाएर सुवेदीलाई निर्वाचन आयोगबाट वित्त आयोग फर्काइएपछि राजीनामा दिने अवस्थामा पुगेका हुन्।
निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेपछि सुवेदी आयोगबाट हटाइएका थिए। करिब साढे ६ महिना जागिर बाँकी रहेका सुवेदी प्रयाप्त वित्त नै नभएको वित्त आयोगमा पुगेका छोटो समयमै राजीनामा दिएर हिँडेका छन्। यस अघि लामो समय वित्त आयोगमा टिक्ने सचिवमा उनी पर्छन्। अहिले भने दुई महिनामै निरास भएर सरकारी जागिर छाडेर हिँडेका हुन्।
जागिरे जीवन शाखा अधिकृत हुँदा राष्ट्रिय योजना आयोगमा बिताएका सुवेदी सहसचिव भएपछि पुरै कार्यकाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखामा बसेर बिताए। पुरातत्त्व विभागको कमाण्ड समेत सम्हाल्न नपाएका सुवेदी सिंगो निजामती प्रशासनको कमाण्ड सम्हाल्ने तरखरमा थिए। फिल्डमा बसेर खासै काम नगरेका उनी शंकरदास बैरागी खनाल भाग-२ को भूमिकामा उदाउन लागेका थिए। तर, मुख्यसचिव खाली नहुँदै मैदान छाडेर जागिरबाट अस्ताएका छन्।
क्याटेगोरी : समाचारट्याग : #भरतमणि सुवेदी
तपाईको प्रतिक्रिया दिनुहोस