संगीता मिश्रको पहिलो प्राथमिकता : सुशासन, जवाफदेहिता र सुधार


काठमाडौं । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउन लागेकी संगीता कौशल मिश्रले भोलि पदभार ग्रहण गर्ने तयारी गरेकी छन्। मन्त्री पद सम्हालेपछि उनले सुशासन र जवाफदेहितालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन्। स्वास्थ्य क्षेत्रमा देखिएका अनियमितता अन्त्य गर्दै मन्त्रालयदेखि तल्लो तहसम्म पारदर्शिता कायम गर्ने अठोट उनले सार्वजनिक गरेकी छन्।

उनले, कसैसँग दुष्भाव नराखी सहकार्य र हातेमालो गर्दै अघि बढ्ने अठोट लिएकी छन्। “अस्पताल सुधार मात्र होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीमा पारदर्शिता र जवाफदेहिता स्थापित नगरी दीगो सुधार सम्भव छैन,” उनले भनिन् । प्रधानमन्त्री सरह हक्की स्वभावकी मिश्रलाई स्वास्थ्य क्षेत्रमा नेतृत्व संकट देखिएको बेला संवेदनशील समयमा मन्त्रीको जिम्मेवारी आएको हो।

सबैलाई पछि पार्दै खुलाबाटै उदाएकी थिइन्

नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदमा कार्यरत महिलामध्ये मिश्र विशेष उदाहरणका रूपमा चिनिन्छिन्। हाल सचिव विन्दु विष्ट र स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव मिश्र मात्र खुला प्रतिस्पर्धाबाट विशिष्ट श्रेणीसम्म उक्लन सफल भएका महिला हुन्। मिश्रले महिला कोटा प्रयोग नगरी २०७० सालमा खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौँ तह (सहसचिव) प्रवेश गर्दै विशिष्ट श्रेणी (अतिरिक्त सचिव) पदसम्मको यात्रा तय गरेकी हुन्।


उनको नेतृत्वमा स्वास्थ्य सेवा विभागमै हुँदा भएको एउटा महत्वपूर्ण पहल अझै सम्झन लायक मानिन्छ। करोडौं रकम अनियमित ढंगले खर्च भएको संकेत पाएपछि उनले २०८१ असार २८ मा उपकरण वितरणलाई पारदर्शी बनाउन त्रिपक्षीय सम्झौता सुरु गरिन्। यस अन्तर्गत स्वास्थ्य सेवा विभाग, अस्पताल र उपकरण आपूर्ति गर्ने सप्लायर्सलाई समान रूपमा जिम्मेवार बनाइयो। सम्झौता अनुसार, वितरण भएको उपकरण एक महिनाभित्र सञ्चालनमा नआए फिर्ता गरेर अर्को आवश्यक स्थानमा पठाइने व्यवस्था गरियो। यसअघि उपकरण मर्मतका नाममा व्यापारीहरूसँग ठूला रकमको सम्झौता भए पनि कार्यान्वयनमा लापरबाही हुँदै आएको थियो।

सन् २०१७ मा मात्र मेडिलक्स सिस्टम्ससँग १५ करोड ७८ लाख, हस्पिटेक इन्टरप्राइजेजसँग २० करोड ७१ लाख, र लाइफ लाइन ट्रेड इन्टरनेशनलसँग १५ करोड ८३ लाखको सम्झौता भए पनि काम नगरी करोडौंको बिल बुझाइएकामा उनले कडाइ गरिन्।

त्यसरी मर्मतका नाममा हुँदै आएको करोडौंको चलखेललाई रोक्दै सप्लायर्सलाई प्रत्यक्ष जिम्मेवार बनाउन उनले महत्वपूर्ण कदम चालेकी थिइन्।

सबैभन्दा सिनियर रहेकी संगीता पार्टीको कार्यकर्ता नभएकै कारण तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिव बनाउनबाट रोकेका थिए । एक नम्बरमा सिफारिस भएकी संगीताले सचिव नबनाएपछि आफू अन्यायमा परेको भन्दै केही महिना बिदामा बसेकी थिइन्। अहिले पनि मिश्रलाई मन्त्री बन्न बाट रोक्न उनका विरुद्धमा जथाभावी समाचारहरू लेखाउन थालेका छन्।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ