मुख्यसचिव अर्यालसहित २ सचिव मंसिरमा घर जाँदै


काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालसहित २ जना सचिव मंसिर महिमै घर जाँदैछन्। मुख्यसचिव अर्याल, राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द्र गौतम मंसिरमै घर जान लागेका हुन्।

मुख्यसचिव अर्याल र प्रधानमन्त्री कार्यालयका कानुन सचिव गौतम ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्। त्यस्तै राष्ट्रिय योजना आयोगका सचिव दुवाडी ५ वर्षे कार्यकालले अवकाशमा जान लागेका छन्।

मुख्यसचिव अर्याल र राष्ट्रिय योजना आयोगका सचिव दुवाडी यही मंसिर ९ गते घर जाँदैछन्। २०८१ भदौ १३ गते मुख्यसचिव बनेका अर्याल करिब १५ महिना मुख्यसचिव चलाए घर जान लागेका हुन्। उनको कार्यकाल एकदमै विवादास्पद रह्यो। २०७७ मंसिर १० गते सचिवमा बढुवा भएका दुवाडी पनि विवादै विवादमा जेलिएर ५ वर्ष बिताए। उनी पनि आलोचित भएर घर जान लागेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द्र गौतम डेढ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा जाँदैछन्। २०८० साल भदौ २१ गते सचिवमा बढुवा भएका गौतम मंसिर १७ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने भएका हुन्। उनी दुई वर्ष बढी सचिव चलाएर घर जान लागेका हुन्।

मंसिर महिनामै आधा दर्जन बढी सहसचिव घर जाने सूचीमा छन्। मंसिर ३ मधेश प्रदेशका सचिव लालबावु कवारी, मंसिर ७ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकाल, मंसिर १४ गते समावेशी आयोगका सचिव कुमारप्रसाद दाहाल, मुद्रण विभागका महानिर्देशक गोपाल कोईराला मंसिर ९ गते र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ईन्द्रप्रसाद बस्याल मंसिर २७ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्। भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाकी प्रमुख सलिना मानन्धर ५८ वर्ष लागेर मंसिर १५ गते अनिवार्य अवकाशमा जाँदैछिन्।

सहसचिव दामोदर गौतम कार्तिक ५ गते, सहसचिव कविराज पौडेल कार्तिक ७ गते , सहसचिव नरबहादुर थापा कार्तिक १४ गते, सहसचिव यज्ञप्रसाद ढुंगेल कार्तिक १८ र सहसचिव बद्रीनाथ अधिकारी कार्तिक २९ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गइसकेका छन्। अब मंसिरमा घर जानेको पालो।

क्याटेगोरी : समाचार
ट्याग : #एकनारायण अर्याल, #गोकर्णमणि दुवाडी, #फणिन्द्र गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ